डिपिएल–३ : खेल मैदान निर्माण कार्य सुरु

डिपिएल–३  :  खेल मैदान निर्माण कार्य सुरु

धनगढी : क्रिकेटको शहरको उपमा पाएको धनगढीमा माघ महिनामा आयोजना हुने धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि मैदान निर्माण कार्य तीब्र भएको छ । 

प्रस्तावित अन्तरराष्ट्रिय क्रिकेट मैदान फाप्लामा मैदान, पीच निर्माण भइरहेको छ । अन्तरराष्ट्रिय खेलाडी समेत टीममा राख्न पाउने भएपछि मैदान समेत अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो । मैदानमा माटो र बालुवा राख्दै रोलिङ गर्ने काम भइरहेको छ ।

२० ओभरमा खेलाईने खेलमा दर्शकहरुले चौका र छक्का बढी आशा गर्ने भएकोले ब्याटिङ विकेट बनाउन लागिएको आयोजकले जनाएको छ ।

धनगढी प्रिमियर लिगका अध्यक्ष सुवास शाहीका अनुसार पीच निर्माणका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानका पीच क्युरेटर बिशन मण्डलको नेतृत्वमा पीच निर्माण कार्य चलिरहेको छ । 

मण्डलको नेतृत्वमा भइरहको काममा सघाउन भारतको मुम्बइबाट अनुभवी पीच क्युरेटर ल्याइएको छ । मुम्बईबाट काममा सघाउन तीन जना क्युरेटर धनगढी पुगेका छन् । आफुहरु पीच निर्माणको सकेर मात्रै मुम्बइ फर्किने उहाँहरुले बताउनुभएको छ । स्थानीय स्तरमा उपलब्ध माटो र बालुवा अन्तरराष्ट्रिय स्तरको मैदान बनाउनका लागि उपयुक्त भएको क्युरेटरहरुले बताउनुभएको छ । 

पीच संगै आउटफिल्ड बनाउने काम समेत शुरु गरिएको छ । आउटफिल्डका लागि चाहिने घासको ब्यवस्था भइसकेको लिगका अध्यक्ष शाहीले जानकारी दिनुभयो । मैदानमा भइरहेको कामको आज धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले निरीक्षण गर्नुभएको छ ।

काम तीब्र रुपमा भइरहको र यसले पछिको प्रतियोगिताहरुलाई पनि सहयोग गर्ने भएकोले आफुले पनि सहयोग गरिरहेको मेयर वड संगै निरीक्षणमा पुग्नुभएका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐरले बताउनुभयो ।  

एकपटक मैदान बनाइसकेपछि यही स्थानमा बिभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने लक्ष्य सहित काम भइरहेको छ ।