कैलाली उद्योग वाणिज्य संङ्घको चुनावका लागि तेस्रो समूह छलफलमा

कैलाली उद्योग वाणिज्य संङ्घको चुनावका लागि तेस्रो समूह छलफलमा

धनगढी :: सदस्यता सम्बन्धी छानबिन चलिरहेको कैलाली उद्योग वाणिज्य सङ्घको चुनावका लागि तेस्रो समूह छलफलमा जुटेको छ । तेस्रो समूहले पूर्व उपाध्यक्ष गजेन्द्रवीर चन्दलाई अध्यक्ष बनाउँदै सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु गरेको छ । 

दुई समूह प्यानल सहित चुनावी मैदानमा उत्रेका बेला सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्नका लागि चलाइएको छलफलमा सङ्घका केही पूर्व पदाधिकारी पनि सकारात्मक देखिएका छन् । 

सर्वसम्मतिमा नेतृव चयनका लागि अन्य तिन वटा समूहलाई छुट्टा छुटटै पत्र पठाएको उक्त समूहले सहमति नभए आफै चुनावी मैदानमा उत्रने समेत तयारी गरेको छ । 

कोषाध्यक्ष पुष्पराज कुँवर र महासचिव रुपेश स्वार प्यानल सहित उम्मेदवारी घोषणा गरी चुनावमा होमिएका बेला गत बैशख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनाव सदस्यता विवादको विषयमा मुद्दा परेपछि २० गते अदालतको आदेशपछि स्थगित भएको थियो । 

त्यसपछि हालसम्म चुनाव हुन सकेको छैन । यद्यपि, चुनाव हुन नसक्नुको मुख्य कारण रहेको सदस्यता छानबिनको काम सुरु भएको छ । सदस्यता छानबिन समितिले छानबिनको काम सुरु गरेसँगै तेस्रो समूहले नयाँ नेतृत्वका लागि छलफल चलाएको हो । 

उक्त समूहले गजेन्द्रवीर चन्दको नेतृत्वमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्नका लागि छलफल चलाईएकोसर्वसम्मतिका लागि सक्रियताका साथ छलफल चलाइरहेको समूहका एक जना सदस्य रविनकान्त पन्तले बताए । 

कैलाली उद्योग वाणिज्य सघको निर्वाचनमा सर्वसम्मतिले नेतृत्व चयनका लागि सहमति खोज्ने प्रयास गरिरहेको गजेन्द्रवीर नेतृत्वको तेस्रो समूहमा व्यवसायी सञ्जय, चौधरी, रविनकान्त पन्त, माया प्रकाश भट्ट, शिव कुमार फुलारा, नवीन जोशी लगायत छन् । 

उक्त समूहले सर्वसम्मतिका लागि निर्वाचनमा प्रतिक्ष्पर्धाका लागि तयार रहेका पुष्पराज कुँवर र रुपेश स्वार  सहित सङ्घका पूर्व अध्यक्ष दिनेशराज भण्डारी र वर्तमान अध्यक्ष शंकर बोगटीलाई औपचारिक रूपमै जानकारी गराइसकेको जनाएको छ । 

सर्वसम्मतिका लागि गरिएको आग्रह सबैले सकारात्मक रूपमा लिएको भए पनि यसअघि चुनावको प्रचारप्रसारमा धेरै रुपैयाँ र समय खर्च भइसकेको भन्दै केही पदाधिकारीले अस्वीकार गरेका छन् । 

सर्वसम्मतिका लागि पहल गरिरहेको तेस्रो समूहका नेतृत्व कर्ता गजेन्द्रवीर चन्द संस्थाको गरिमाका लागि पद र पैसा भन्दा पनि सर्वसम्मतिमा राम्रो टिम बनाएर अगाडि बढ्नुपर्ने बताउछन । त्यसमा पूर्व अध्यक्ष र वर्तमान कार्यसमितिको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ । 

कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दिनेशराज भण्डारी पनि सर्वसम्मतिको प्रयास सकारात्मक भएको बताउछन । उनले कठिन भए पनि सर्वसम्मत हुन सके त्यसले राम्रो सन्देश दिने बताए । 

सर्वसम्मतिका लागि पहल गरिरहेको तेस्रो समूहले आफूसित हालसम्म कुनै समन्वय नगरेको बताएका भण्डारीले सर्वसम्मतिको प्रयास गरिए त्यसमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तेस्रो समूहले आफ्नो नेतृत्वका लागि हो वा सबैलाई मिलाउनका लागि सहमति खोजेको प्रस्ट पार्नुपर्ने उनको भनाई छ । 

सर्वसम्मतिमा नेतृव चयनका लागि अन्य तिन वटा समूहलाई छुट्टा छुटटै पत्र पठाएको उक्त समूहले सहमति नभए आफै चुनावी मैदानमा उत्रने समेत तयारी गरेको बुझिएको छ । 

फोटो : रविन पन्तको फेसवुकबाट