चार महिनामा ५७ करोडको तरकारी आयात

चार महिनामा ५७ करोडको तरकारी आयात

धनगढी : कृषि उत्पादनलाई बढाए मात्रै भारतसितको ब्यापार घाटा कम हुने तथ्यांक सार्वजनिक हुँदै गर्दा तरकारी आयातले पनि ब्यापार घाटा बढाएको देखाएको छ । 

समग्रमा चालू आर्थिक बर्षको चार महिनामा गत आर्थिक बर्षको तुलनामा ४०.३ प्रतिशतले ब्यापार घाटा बढेको तथ्यांक राजधानी काठमाण्डौंमा सार्वजनिक भएको बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको त्रिनगर भन्सार नाकाबाट आयात भएको तरकारीले पनि ब्यापार घाटा बढाउन सहयोग पु¥याएको छ ।

तरकारी समेत निकै ठूलो परिमाणमा भारतबाट आयात हुने गरेको तथ्य कैलाली भन्सार कार्यालयको चार महिनाको रेकर्डले पुष्टि गर्छ । कैलाली जिल्लाको त्रिनगर भन्सार नाकाबाट मात्रै चालू आर्थिक बर्षको चार महिनामा झण्डै तीस हजार मेट्रिक टन तरकारी आयात भएको छ । 

कैलालीको मुख्य भन्सार नाकाबाट बाट मात्रै यति ठूलो परिमाणमा तरकारी आयात भएको हो । चार महिनाको अवधिमा आयात भएको २९ हजार चार सय मेट्रिक टन तरकारीमा सबैभन्दा ठूलो हिस्सा आलुको छ ।

यो अवधिमा आलु मात्रै १९ हजार १ सय  मेट्रिक टन आयात भएको छ । आलु पछि आयातमा प्याजले दोस्रो ठूलो हिस्सा ओगटेको छ । यो अवधिमा ६ हजार ८ सय मेट्रिक टन प्याज आयाज भएको छ । यस्तै गोलभेडा १ हजार ४ सय मेट्रिक टन र आयात भएका अन्य मिश्रित तरकारीहरुको परिमाण १ हजार ८ सय मेट्रिक टन रहेको छ । 

कात्तिक मसान्त सम्मको तथ्यांक हेर्दा यत्रो परिमाणको तरकारी आयातमा झण्डै ५७ करोड रुपैया लागेको छ । आलु आयातमा मात्रै ४१ करोड ६० लाख ९७ हजार ४ सय ५२ रुपैया खर्च भएको छ ।

यस्तै ९ करोड ८८ लाख ७१ हजार ८२ रुपैया प्याजमा आयातमा लागेको छ भने गोलभेडाका लागि २ करोड ४२ लाख ८८ हजार ६ सय ६१ रुपैया मुल्य तिरिएको छ । अन्य तरकारीका लागि ३ करोड ३ लाख ७४ हजार २ सय ९३ रुपैया खर्च भएको छ । कैलाली भन्सार कार्यालयका अधिकृत गोपीकृष्ण उप्रेती चार महिनामा तरकारीबाट मात्रै ३ करोड ९० लाख ८२ हजार ८ सय ६९ रुपैया राजश्व संकलन भएको बताउनुभयाे । 

कृषिबाट आर्थिक सम्बृद्धि हासिल गर्ने लक्ष्य बोकेको संघीय सरकार प्रदेश सरकारले बजेटमा पारेका कार्यक्रम समेत लागू गर्न नसकेपछि तरकारी आयातमै ठूलो रकम खर्च हुने अवस्था बनेको छ । संघीय र प्रदेश सरकारले कृषिमा अनुदान दिए पनि त्यो रकम वास्तविक किसान नपुगेको पनि समस्या भएको बिज्ञहरु बताएका छन ।

अनुदान मात्रै नभएर बजारको पनि ग्यारेन्टी गरिदिएपछि मात्रै किसानले ठूलो परिमाणमा उत्पादन शुरु गर्ने भएकोले त्यतातिर ध्यान दियो भने ब्यापार घाटामा कमी ल्याउन सकिने  कैलाली बहुमुखी क्याम्पसका अर्थशास्त्र बिषयका उप प्राध्यापक अम्बिकेश्वर जोशीले बताउनुभयाे।

सरकारले दिएको अनुदान समेत सही ब्यक्तिका हातमा नपरेकोले पनि तरकारीको उत्पादन बढ्न नसकेको उप प्राध्यापक जोशी बताउनुभयाे ।

नीति बनाउने मात्रै होइन किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्न ब्यवहारिक पक्षलाई बलियो बनाए मात्रै तरकारीको आयात घट्ने देखिन्छ।