कैलालीमा बाढी : थप एक जना वेपत्ता, वेपत्ताको संख्या ४ पुग्यो

कैलालीमा बाढी : थप एक जना वेपत्ता, वेपत्ताको संख्या ४ पुग्यो

धनगढी : कैलालीमा लगातारको बर्षापछि आएको बाढीले थप एक जना वेपत्ता भएका छन । जिल्लाको जानकी गाउँपालिका २ का ५४ वर्षीय कोबी सुनार बाढीमा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस अघि बुधवार भजनी नगरपालिका ८ का ११ वर्षीय बालक स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएका थिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ।

यस्तै कैलालीमा लगातारको वर्षाले ६ हजार बढी परिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार १८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले ३० घर भत्किएका छन्। आज पनि विहानै देखि पानी परी रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।