बैक तथा वित्तिय सस्था शहर केन्द्रित हुदा ग्रामीण अर्थतन्त्र कमजोर

बैक तथा वित्तिय सस्था शहर केन्द्रित हुदा ग्रामीण अर्थतन्त्र कमजोर

धनगढी : बैंक तथा बित्तीय संस्थाहरुले लगानीमा बेवास्ता गर्दा सुदूरपश्चिम प्रदेशको ग्रामीण अर्थतन्त्र सवल हुन सकेको छैन । 

बाणिज्य बैंकहरु शहरी क्षेत्रमै केन्द्रित हुँदा ग्रामीण अर्थतन्त्र सवल बन्न नसकेको हो । बिक्न सक्ने खालका बिभिन्न उत्पादन ग्रामीण भेगमा भएपनि तिनले लगानी नपाउँदा त्यहाँको अर्थतन्त्र सवल बन्न नसकेको बिज्ञहरुले बताएका छन् । 

पर्यटन प्रवद्र्धन गरी अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावित क्षेत्रहरुमा बैंकको लगानी नै छैन । तराईका दुई जिल्लाका केही शहरोन्मुख गाउँहरुमा बाणिज्य तथा विकास बैंकहरुले  आफ्नो शाखा कार्यालय स्थापना गरेपनि पहाडी जिल्लाहरुमा भने ग्रामीण क्षेत्रमा सहकारी संस्था र केही लघु बित्त बैंकहरु मात्रै रहेका छन् । 

प्राय ठूलो परिमाणमा कर्जा लिने ब्यवसायीलाई प्राथमिकतामा राख्ने बाणिज्य बैंकहरुले ग्रामीण क्षेत्रबाट संकलन गरेको निक्षेप समेत शहरी क्षेत्रमा कर्जा लगानी गरेका छन् । 

यस स्थितिले गर्दा शहरी अर्थतन्त्र सवल बन्दै जाने र ग्रामीण अर्थतन्त्र कमजोर बनिरहने अवस्था आएको छ । 

ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा ब्यवसायिक लगानी गर्नुपर्ने आवश्यकता रहेको रामारोशन माइक्रो फाइनान्स लिमिटेडका बरिष्ठ प्रवन्धक मीन प्रसाद जोशी बताउछन । 

नेपाल राष्ट्र बैंक धनगढी शाखाको तथ्यांक अनुसार पहाडका जिल्लाहरुमा संकलन भएको निक्षेपको आधा अंश पनि त्यहाँ लगानी भएको छैन् । 

बैतडी जिल्लामा गत आर्थिक बर्षमा बैंक तथा बित्तिय संस्थाहरुले ९७ करोड ८० लाख ४० हजार ऋण लगानी गरेका छन् । जबकि सोही अवधिमा त्यहाँबाट दुई अर्ब ४९ करोड ३१ लाख ६ हजार निक्षेप संकलन भएको थियो । 

यस्तै डोटी जिल्लामा गत आर्थिक बर्षमा एक अर्ब १६ करोड ७९ लाख ५० हजार ऋण लगानी भएको छ । यो अवधीमा डोटीबाट बंक तथा बित्तीय संस्थाहरुमा दुई अर्ब ३६ करोड ३६ लाख १० हजार रुपैया निक्षेप जम्मा भएको छ ।  

अछाम जिल्लामा पनि बैंक तथा बित्तीय संस्थाहरुले स्थानीयबाट संकलन गरेको दुई अर्ब ८५ करोड ६२ लाख ५० हजार मध्ये एक अर्ब ७ करोड १८ लाख १० हजार मात्रै त्यही लगानी गरेका छन् । 

डडेल्धुरामा भने निक्षेप संकलन र लगानीको दरमा दोब्बर जस्तै अन्तर देखिएको छ । यहाँबाट बैंकहरुले दुई अर्ब ९१ करोड ५६ लाख ६० हजार निक्षेप संकलन गरेकोमा एक अर्ब ६७ करोड ७१ लाख १० हजार मात्रै लगानी गरेका छन् । 

यता कैलाली र कञ्चनपुरको अवस्था भने फरक छ । यी दुई जिल्लामा बैंकहरुले संकलित निक्षेपभन्दा बढी ऋण लगानी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा संकलन भएको निक्षेपले नपुगेर बैंकहरुले बाहिरको निक्षेप समेत यी दुई जिल्लामा लगानी गरेका छन् । 

गत आर्थिक बर्षमा कैलालीमा ४४ अर्ब ६७ करोड २८ लाख ७० हजार ऋण लगानी भएकोमा यहाँबाट सो अवधिमा २६ अर्ब ७३ करोड ८० लाख ७ हजार मात्रै निक्षेप संकलन भएको छ । 

कञ्चनपुर जिल्लामा गत आर्थिक बर्षमा १३ अर्ब ५० करोड ५७ लाख ८० हजार ऋण लगानी भएकोमा त्यहाँ पनि यो भन्दा कम निक्षेप संकलन भएको छ । कञ्चनपुरमा १३ अर्ब ३९ लाख १६ हजार मात्रै निक्षेप संकलन भएको छ । 

मागको आधारमा बैकले लगानी गर्ने भएकोले दुर्गम तथा ग्रामीण क्षेत्रमा माग नै नभएका कारण बंैकले लगानी नगरेको हुन सक्ने नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक किरण पण्डितले बताउनुभयो  । 

उहाँले उद्यम गर्न चाहनेले ऋण पाउन सक्ने भन्दै ग्रामीण क्षेत्रबाट ऋणको माग नै कम भएका कारण बैंककले अर्को स्थानमा लगाानी गरेको बताउनुभयो।  

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अझै २० वटा स्थानीय तह बैकिङ पहुच बाहिर छन । 

सवै स्थानीय तहमा बैकका शाखा स्थानना गर्ने तयारी गरिरहेको बताउदै आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री झपट बहादुर बोहराले त्यसपछि पहाडी जिल्लाका ग्रामीण क्षेमा पनि लगानी बढने बताउनुभयो।