‘निर्मला हत्याकाण्डको समाचारमाथि रोक लगाएको प्रमाणित भए तत्कालै राजीनामा दिन्छु’

‘निर्मला हत्याकाण्डको समाचारमाथि रोक लगाएको प्रमाणित भए तत्कालै राजीनामा दिन्छु’

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले त्यस्तो प्रमाणित भए तत्कालै आफुले राजिनामा दिने चुनौति दिएका छन्।

सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डको समाचार प्रकाशन तथा प्रसारण नगर्न सरकारी सञ्चारमाध्यमलाई निर्देशन दिएको भन्दै आलोचना भइरहेका बेला मन्त्री बास्कोटाको यस्तो प्रष्टीकरण आएको हो।

निर्मलाको न्यायका लागि लडाइँ र धर्ना दिँदादिँदै बिरामी परेका उनका बुवा यज्ञराज पन्तलाई बेहोश बनाएर राजधानीको त्रिवि शिक्षण अस्पतालमा उपचारका ल्याइको केही समयमै उनी र निर्मलाको हत्याकाण्डबारे समाचार प्रकाशन तथा प्रसारणमा सरकारले गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिलाई रोक लगाएको समाचार बाहिरिएको थियो।

तर, मन्त्री बास्कोटाले ती सबै समाचार पूर्वाग्रही र भ्रामक भएको, आफू र सरकारलाई बदनाम गराउने खेल मात्रै भएको दावी गरेका छन्।

‘निर्मलाका हत्यारालाई खोज्न सरकार चौतर्फी लागि परेका बेला यस्तो संवेदनशील विषयको समाचार प्रकाशन तथा प्रसारणमा रोकको निर्देशन म या प्रधानमन्त्रीबाट आउन सक्दैन र सम्भव पनि पनि छैन,’ उनले मंगलबार देशसञ्चारसँग भने, ‘यदि कसैले यस्तो निर्देशनको मौखिक, लिखित, फोन रेकर्ड वा आशय झल्कने कुनै पत्र मात्रैको पनि प्रमाण दिन्छ भने म तत्कालै यो ठाउँ छोड्छु।’

मन्त्री बास्कोटाले सरकारबाट हुँदै नभएको काम या निर्देशनबारे समाचार बनाएर जनतालाई भ्रमममा राख्ने खेल भइरहेको बताए। ‘म झुट बोल्न जान्दिनँ, ममाथि बेइमानी गरियो भने या अन्याय गरियो भने त्यसको मूल्य सम्बन्धित संस्थाले नै चुक्ता गर्नुपर्छ। आफैँले उठाएको मुद्दा आफैले प्रमाणत गरेर मलाई चुनौति दिँदा हुन्छ’, उनले सञ्चारमाध्यमलाई लक्षित गर्दै भने।

मन्त्री बास्कोटाले सरकार असफल बनाउन र व्यक्ति खुइल्याउने काम केही सञ्चारमाध्यमबाट भएको भन्दै त्यसमा आक्रोश समेत व्यक्त गरे। ‘यस्तो नक्कली कुरा गरेर पत्रकारिताबाट धक्कु लगाउन पाइन्छरु,’ उनले प्रश्न गरे, ‘यो त नेपाली पत्रकारिताको बेइज्जत हो।’

हत्यारा पहिचानमा सरकारपछि हट्ने छैनः बास्कोटा

न्यायको लडाइँमा निर्मलाका अभिभावको जीवन जोखिममा परेको छ नीरु भन्ने प्रश्नमा मन्त्री बास्कोटाले अपराधीको खोजतलासबाट सरकार एकपाइला पनि पछि नहटेको जवाफ दिए।

‘अपवादको कुनै घटना बन्न गयो यो, तर यही देश हो जहाँ १८ वर्षअघिका अपराधी पनि धमाधम पत्ता लाग्दैछन्। संखुवासभामा केही समय पहिले एउटा परिवार नै बसाइ सर्यो। घटनाहरु कहिलेकाही त्यस्ता हुँदा रहेछन्। के सरकार यसमा रमिता मानेर बसेको छ र रु त्यसप्रति चन्ता छ र अपराधीलाई कठघरामा कुनै न कुनै दिन उभ्याएर छोड्छ,’ उनले भने।

निर्मलाको बुवाको उपचार सुरु भएको र यस विषयमा राजनीतिकरण गर्ने या जथाभावी हल्ला गरेर पनि न्याय नहुने उनको टिप्पणी थियो।

‘सरकारले यो घटनाको अनुसन्धानबाट हात झिकेको या केही गर्न सक्दिन भनेर अडान कसेको वा मतलव नगरेको अवस्था होइन,’ उनले भने, ‘घटनाप्रति सरकारले घृणा व्यक्त गर्यो। १० लाख क्षतिपूर्ति दियो। नेपाल पुलिसले पत्ता लगाउन नसकेपछि विभिन्न छानविन समिति बनायो। र धमाधम अनुसन्धान गरिरहेको छ।’

मन्त्री बास्कोटाको यस्तो अभिव्यक्ति आएपनि सरकारी सञ्चारमाध्यममा निर्मला हत्याकाण्डबारे निकै कम समाचार प्रकाशन तथा प्रसारण भएको देख्न सकिन्छ।साभार : देश सञ्चार