काँग्रेसमा प्रभावशाली र इमान्दार मानिएका नेता ओझालाई कार्वाही पछी कार्यकर्तामा निराशा

काँग्रेसमा प्रभावशाली र इमान्दार मानिएका नेता ओझालाई कार्वाही पछी कार्यकर्तामा निराशा

धनगढी – नेपाली कांग्रेसले पूर्व सांसद, नेपाल सरकारका पुर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि कैलालीमा कांग्रेस नेता, कार्यकर्ता विच बहस शुरु भएको छ । 

कैलालीको राजनितीमा प्रभावशाली तथा इमान्दार नेताको रुपमा पहिचान बनाएका ओझालाई कारबाही गर्ने निर्णयकाविरुद्ध नेपाली कांग्रेस कैलाली उनि समर्थक नेता तथा कार्यकर्तामा व्यापक असन्तुष्ठी देखिन थालेको छ । केही नेताहरुले त झन सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । 


केही नेताहरु भने आफ्नो पनि राजनिती सकिने डरले यो बारेमा खुलेर विरोध गर्न सकेका छैनन् । एक जना जिल्ला कमिटी सदस्य ओझालाई कार्वाही गर्ने निणर्य समग्र कांग्रेसीहरुका लागी घातक हुने तर्क राख्छन् । नाम नखुलाउन आग्रह गर्दै उनले पार्टीमा शक्तीको आडमा पार्टीमा योगदान गरेका र यही क्षेत्र बाट निरन्तर काम गरेका लाई अवसर दिनुपर्नेमा निकटताका आधारमा अवसर प्रदान गरिने परिपाटीले पार्टीलाई ठुलो धक्का पुग्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा पत्नी आर्जु राणा देउवालाई पुनः धनगढीमा उम्मेद्धार बनाउन बाटो क्लियर गर्न ओझालाई कार्वाही गरिएको चर्चा पनि काँग्रेस भित्र व्यापक रहेको छ । ओझा सर्मथक केही अगुवा नेता कार्यकर्ता अवको योजना बारे छलफल गर्न आज धनगढीमा भेला हुने जनाइएको छ ।

विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्न भेला बोलाइएको नेपाली कांग्रेस कैलालीका सचिव तथा ओझाका विश्वास पात्रका रुपमा समेत हेरिएका नेता पूर्ण कुँवरले बताए ।

नेता कुवँरका अनुसार सामूहिक राजीनामा दिनेसम्मको निर्णय आजको भेलाले तय गर्नसक्नेछ । उनले नेता ओझामाथि गरिएको कारबाही बदर गर्न दबाब दिने र आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलका लागि पनि भेला बोलाइएको बताए ।

‘देउवा पत्नी तथा काँग्रेस नेतृ राणालाई इन्कीत गर्दै नेता कुँवरले आयातित मान्छेहरुको अवसरका लागि अर्को पक्षलाई सक्काउने भनेरै पार्टीको एक तप्का लागेको बताउर्दै  जेल नेल सहेका र योगदान गरेका कार्यकर्तामा यो निर्णयले निराश बनाएको भन्दै यसले पार्टीलाई फाइदा नहुने उनको तर्क छ ।

कुँवरले आर्थिक अवस्था कमजोर भएका र सामान्य परिवारबाट उदायका नेताहरुलाई कमजोर पार्ने षडयन्त्र गर्दै ठेक्कापट्टामा संलग्न मान्छेहरुलाई नेता बनाउने प्रयास भइरहेको आरोप लगाए ।

पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडि सार्ने नियतले पार्टीले कारबाहीको निर्णय गरेको उनले बताए ।

पार्टीमा पुष्करनाथ ओझा भएसम्म मेरा लागि ठाउँ छैन भन्ने बुझाई देउवा पत्नी राणामा भएका कारण अनुशासन समिति उनको प्रभावमा परेको कुँवरले आरोप लगाए ।

२०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा कैलाली ५ बाट शेरबहादुर देउवाले पत्नी आर्जुलाई टिकट दिएपछि रुष्ट भएका थिए।

पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आर्जुको प्रचारमा गएका थिएनन्। त्यसपछि आर्जुलाई चुनाव हराउन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो। धनगढी क्षेत्र बाट नेकपाका उम्मेदवार नारदमुनी राना विजयी भएका थिए ।

तर ओझालाई कारबाही गर्ने निर्णयले पार्टीलाई आगामी दिनमा पनि फाइदा नहुने कुँवर बताए। उनले भने, ‘पुष्करनाथ ओझा चुप लागेर घरमा बस्दा त चुनाव हराएको आरोप लाग्यो भने कांग्रेसकै नैतिक बन्धनबाट उनी मुक्त हुँदा कस्तो प्रभाव पर्ला सहजै अनुमान लगाउने कुरा हो।’

पटकपटक जिम्मेवारीमा निष्ठाका साथ काम गरेका नेता ओझा आर्थीक रुपमा पनि पारर्दशी तथा इमान्दार नेताका रुपमा कार्यकर्ता माझ परिचित छन् । 

उनले जीवनभर राजनीतिमा लागेको व्यक्तिले फेरि पनि राजनीति नै गर्ने बताउँदै भने, ‘पुष्करनाथ ओझाको व्यक्तिगत जीवन छैन । उहाँ राजनीतिमै हुनुहुन्छ जनताकोबीचमै हुनुहुन्छ ।’ नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्कासित गरेको थियो । 

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको हो।

जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ। पार्टीको अनुशासन विपरित काम गरेको भन्दै उनीहरुलाई निष्कासित गरिएको हो।

उनीहरु तीनै जनालाई स्थानीय, प्रदेश एवं संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै अनुशासन समितिले स्पष्टिकरण सोधेको थियो।