लक्ष्य अनुसार राजस्व संकलन भएन

लक्ष्य अनुसार राजस्व संकलन भएन

धनगढी : कैलाली भन्सार कार्यालय चालु आर्थिक वर्ष २०७५÷७६ को पहिलो चौमासिकमा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म भन्सार कार्यालयले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको जनाएका हो । 

उक्त कार्यालयले साउन महिनामा ३७ करोड ५९ लाखराजस्व सकलन गर्ने लक्ष्य लिएको भएपनि २९ करोड ३० लाख मात्रै राजश्व संकलन गरेको छ । 

भदौ महिनामा ४२ करोड ५७ लाखको लक्ष्यमा ३८ करोड १५ लाख मात्रै संकलन गर्न सकेको भन्सार अधिकृत तथा सुचना अधिकारी गोपीकृष्ण उप्रतीले जानकारी दिनुभयो । 

त्यस्तै, असोजमा ३७ करोड ९ लाख राजस्व सकलन गर्ने लक्ष्य लिएको कार्यालयले ४७ करोड २ लाख संकलन गरेपनि कात्तिक महिनामा भने ४१ करोड ४७ लाखको लक्ष्यमा ४० करोड ६ लाख मात्रै राजस्व संकलन गरेको उप्रतीले जानकारी बताउनुभयो । 

चालु आर्थिक वर्षमा ५ अर्व २२ करोड राजस्व सकलन गर्ने लक्ष्य लिएको कैलाली भन्सार कार्यालयले चार महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको हो । 

भन्सार अधिकृत तथा सुचना अधिकारी उप्रतीले पहिलो चौमासिकमा पेट्रोलियम पदार्थ न्यून मात्रामा आयात हुनु, दशै तिहार लगायतका चाडपर्वका कारण लक्ष्य अनुसार राजस्व सकलन गर्न नसकिएको बताउनुभयो । 

पहिलो चौमासिकमा लक्ष्य अनुसार राजस्व सकलन गर्न नसकेको कार्यालयले अव राजस्व सकलनमा बृदि हुने अपेक्षा गरेको छ ।