भारतीय महिलाको आक्रमणबाट सशस्त्र प्रहरी घाइते

भारतीय महिलाको आक्रमणबाट सशस्त्र प्रहरी घाइते

नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो ।

परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीयहरुले सशस्त्र टोलीमाथि आक्रमण गरेको हो । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताउनुभयो । पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए ।

आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए । घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।