वर्षातको समयमा स्क्रब टाइफसको जोखिम, सचेत रहन डाक्टरको सुझाव

वर्षातको समयमा स्क्रब टाइफसको जोखिम, सचेत रहन डाक्टरको सुझाव

वर्षातको समयमा स्क्रब टाइफस रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । 

अहिले धेरैको ध्यान कोरोनामा केन्द्रीत भएकाले स्क्रब टाइफसलगायतका अरु रोगको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ। 

स्क्रब टाइफस रोगका बिरामी भेटिन थालेका उहाँले जानकारी दिनुभयो । गएका वर्षमा यो बेला स्क्रब टाइफसका बिरामी धेरै हुने गरे पनि यो वर्ष कोरोनाको डरका कारण मानिस अस्पताल नपुगेका हुनसक्ने उहाँले बताउनुभयो । 

ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्नेलगायतका लक्षण स्क्रब टाइफसको हो । यी लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो हुने भएकाले कतिपयले रोग लुकाएर अस्पताल नगएको पनि हुन सक्ने उहाँको भनाइ छ ।

कोरोना भाइरसको कारण हुने मृत्युदरभन्दा स्क्रब टाइफसका कारण हुने मृत्युदर बढी भएकाले रोग नलुकाउन र अस्पताल गइहाल्न डाक्टर पुनको आग्रह छ । मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातीको सूक्ष्म कीराको माध्यमले स्क्रब टाइफस मानिसमा सर्ने गर्छ । 

घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउनेलगायतका सावधानीका अपनाउँदा स्क्रब टाइफसबाट बच्न सकिने डाक्टरले बताएका छन् ।