रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिँदै

रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिँदै

रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिँदैछ । सरकारले जारी गरेको सुरक्षा मापदण्डअनुसार सामाजिक दूरीलगायतका नियम पालना गरेर रथारोहण गर्ने तयारी भएको गुठी संस्थान ललितपुरले जनाएको छ । यसअघि गएको बुधबार आज हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको थियो ।

तर रथारोहणका लागि अर्को साइत नभएपछि आज नै रथारोहण गर्ने निर्णय भएको हो । आज दिउँसो १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटको साइतमा मूर्तिलाई पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गरिने रातो मच्छिन्द्रनाथका ज्योतिष, दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले बताउनु भयो ।

गएको वैशाख १२ मा रथारोहण गरिनुपर्नेमा कोरोना भाइरसको जोखिमका कारण रथ निमार्ण गरी नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजन पाटीमा राखिएको छ । आज त्यहीबाट ल्याएर मूर्तिलाई रथमा विराजमान गरिनेछ । यसअघि पनि असार २४ गते रथारोहण स्थगित गरिएको थियो ।

रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिनेछ । रथमा सुनका फूल, झ्याल, कौसी, धमा जडान गरिएकोे रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।

चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने गरिन्छ । रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटौ लगाएर रथको अगाडि बस्ने जनविश्वास छ ।