कैलालीका स्थानीय तहको दोस्रो किस्ताको निकासा रोकियो

कैलालीका स्थानीय तहको दोस्रो किस्ताको निकासा रोकियो

धनगढी : कैलालीका स्थानीय तहहरुले चालू आर्थिक बर्षको पहिलो त्रैमासिक खर्चको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयलाई नबुझाउँदा दोस्रो किस्ताको निकासा रोकिएको छ । 

जिल्ला १३ वटा स्थानीय तहहरुले पहिलो तीन महिनाका लागि निकासा भएको खर्च विवरण समयमै कोष तथा लेखा नियन्त्रण कार्यालयमा नबुझाएपछि कार्यालयल् दोस्रो किस्ता बाफतको बजेट निकासा नदिएको हो । 

पहिलो किस्ताको खर्च विवरण प्राप्त भएपछि मात्रै दोस्रो किस्ताका लागि निकासा गरिने प्रमुख कोष नियन्त्रक लक्ष्मीराज जोशीले बताउनुभयो । 

कात्तिकको १ गते सम्म बुझाइसक्नुपर्ने प्रावधान भएपनि १० स्थानीय तहले हालसम्म पनि खर्च विवरण बुझाएका छैनन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका कोष नियन्त्रक मदनराज पाण्डेयका अनुसार धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले मात्रै खर्चको फाँटवारी विवरण बुझाएका छन् । 

उनीहरुले समेत ढिलो गरी बुझाएको पाण्डेयले बताउनुभयो । धनगढी उपमहानगरपालिकाले कात्तिकको अन्तिम हप्तातिर र अन्य दुई स्थानीय तहले मंसिरको पहिलो हप्ता खर्च विवरण बुझाएका हुन्  ।