जय नेपाल क्रिकेट उपाधि लालसलामलाई

जय नेपाल क्रिकेट उपाधि लालसलामलाई

दार्चुला : दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ ।

विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको लालसलामले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १८५ रनको विशाल स्कोर खडा गरेको थियो ।

लालसलाम टोलीका तर्फबाट गौतम धामीले सर्वाधिक ८३ रन र सञ्जी फिरिमालले ३८ रनको योगदान दिएका थिए ।

बस्कोट सुपरकिङका तर्फबाट दीपेन्द्र ऐरीले तीन र किरण ठगुन्नाले दुई विकेट लिएका थिए । १८५ रनको लक्ष्य पछ्याउने क्रममा सुपरकिङ १६ दशमलब एक ओभरमा ९५ रनमै समेटियो । सुपरकिङका तर्फबाट किरण धामीले ४५ र दीपेन्द्र बोहराले १५ रन बनाउनुबाहेक अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । लालसलाम टोलीका तर्फबाट करण डडालले तीन विकेट लिए ।

खेलको ‘म्यान अफ द म्याच’ र उत्कृष्ट ब्याट्सम्यान लालसलाम टोलीका गौतम धामी र ‘म्यान अफ द सिरिज’ रवि बिष्ट घोषित भए । 

यस्तै बस्कोट टोलीका प्रकाश चन्द उत्कृष्ट बलर घोषित भएको आयोजक अपी चौलानी सृजनशील युवा क्लबका अध्यक्ष रमेश भट्टले जानकारी दिनुभयो ।

जिल्लाकै सर्वाधिक धनराशिमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टोलीलाई नगद एक लाख एक हजार १११, द्वितीयले नगद ६१ हजार १११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै हरेक खेलका ‘म्यान अफ द म्याच’लाई रु पाँच हजार ५५५ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दार्चुलाका नौ तथा बैतडीका चार वटा गरी कूल १३ टोलीले सहभागिता जनाएका थिए ।

दार्चुलाका नेपाली काङ्ग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो ।