७० वर्षकी महिलाले जन्माउँदैछिन् आठौँ सन्तान

७० वर्षकी महिलाले जन्माउँदैछिन् आठौँ सन्तान

मेक्सिकोमा एक ७० वर्षीया महिलाले आफ्नो आठौँ सन्तानलाई जन्म दिँदैछिन् । सिनालोआस्थित मजत्लासन क्षेत्रकी बासिन्दा ७० वर्षकी मारिया डी लालुस अहिले ६ महिनाकी गर्भवती रहेको बताइएको छ ।

उनको दाबी धेरैले नपत्याएपछि उनले मिडियामा आफ्नो अल्ट्रासाउण्ड रिपोर्ट नै सार्वजनिक गरेकी छिन् । समाचार अनुसार उनी पहिले नै ७ बच्चाकी आमा हुन् ।  पाको उमेरमा पुनः गर्भवती भएपछि डाक्टरहरु पनि अचम्ममा परेका छन् ।

आफूलाई पाइताला दुख्ने र पटक–पटक वान्ता हुनेलगायतका गर्भावस्थाका लक्षण देखिएपछि उनले गर्भ परीक्षणसँगै अल्ट्रासाउण्ड पनि गराइन् । विभिन्न १० वटा क्लिनिकहरुमा गएर परीक्षण गर्दा पनि गर्भको सकारात्मक नतिजा आएपछि मात्र उनलाई आफू गर्भवती भएको यकिन भयो ।

आफ्नो गर्भमा अहिले छोरी रहेको पनि उनले बताएकी छिन् ।

७० वर्षमा गर्भवती हुने मारिया दुनियाँको एक्लो महिला भने होइनन् । भारतको पन्जाबकी दलजिन्दर कौन नामकी महिलाले सन् २०१६ मा ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्वमा सबैभन्दा पाको उमेरमा आमा बन्ने महिलाको कीर्तिमान राखेकी छिन् ।

 

धनगढी खबरका लागि हामीले यो सामाग्री https://www.onlinekhabar.com/2018/05/681231 बाट लिएका हौँ।