ऐतिहासिक शान्ति सम्झौताको १२ वर्ष पूरा,आशा भन्दा निराशा बढी

ऐतिहासिक शान्ति सम्झौताको १२ वर्ष पूरा,आशा भन्दा निराशा बढी

 काठमाडौं । सशस्त्र विद्रोहको अवतरण गराउने ऐतिहासिक शान्ति सम्झौताको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राज्य र विद्रोहीपक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

विस्तृत शान्ति सम्झौता भएको दिनको अवसर पारेर बुधबार विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।  १० वर्षे सशस्त्र विद्रोह गरेको तत्कालीन माओवादी र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि देशको राजनीतिमा नयाँ आयाम थपियो । सम्झौताले राजनीतिक व्यवस्था र आन्तरिक विद्रोहको चपेटाबाट देशले पनि मुक्ति पायो ।

मुलुकमा विद्यमान वर्गीय, जातीय, क्षेत्रिय तथा लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुन: संरचनाको संकल्पसहित तत्कालिन राजनीतिक दलहरूले शान्ति सम्झौतामा हस्ताक्षर गरे ।

विभिन्न दलहरू एक ठाँउमा उभिएर गरिएको सो सम्झौतापछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको थियो । शान्ति सम्झौतासँगै दलहरुबीच भएको राजनीतिक एकताले झण्डै २ सय ४० वर्षे राजसंस्थाको अन्त्य भयो । यद्यपि शान्ति सम्झौता भएको एक दशक पुग्दा समेत ६० दिनमा गर्ने भनिएका शान्ति प्रक्रियाका कतिपय महत्त्वपूर्ण कामहरू अझै पूरा हुन सकेको छैन ।

सशस्त्र द्वन्द्वका क्रममा पीडामा परेकाहरूलाई न्याय दिन र पीडकलाई कानुनी दायरा ल्याउने भनेर दलहरूले प्रतिबद्धता जनाएको लामो समय बित्दा समेत त्यसले मूर्तरूप लिन सकेको छैन । सरकारले द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न भनि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठन गरे पनि तिनले सोचेअनुरुप काम अघि बढाउन सकेका छैनन् ।

निकै ठूलो राजनीतिक उपलब्धिका रूपमा हेरिएको संविधानसभाबाट संविधान जारी गर्ने प्रयास सार्थक त भयो तर सशस्त्र द्वन्द्वको चपेटामा परेकाहरुको समस्या अझै उस्तै छ ।