युवक हत्याको विषयलाई लिएर मंगलवार कैलाली बन्दको घोषणा

युवक हत्याको विषयलाई लिएर मंगलवार कैलाली बन्दको घोषणा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका, ४ का विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलवार कैलाली बन्दको घोषणा गरिएको छ । 

सोमवार धनगढीमा प्रदर्शन सहित प्रशासन अगाढी धर्ना दिएको विजय थापा न्यायिक समितिले हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलवार बन्दको घोषणा गरेको हो । 

घटनालाई पैसा र राजनीतिक शक्तिका आधारमा ढाकछोप गर्न खाजेको भन्दै मृतकका आफन्तले आन्दोलन चर्काउदै गएका छन । 

कैलालीको धनगढी उपमहानगरपालिका, ४ मा रहेको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखको कार्यालय नजिकै शुक्रवार राती थापाको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो । 

थापाको शव घिसार्दै लैजाने क्रममा हत्याको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आषिश सेटीलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । 

पक्राउ परेकालाई सार्वजनिक नगरि बचाउने चलखेल भईरहेको मृतकका आफन्तको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख तथा प्रहरी नायव उपरिक्षक हरि वलीले भने घटनाको सुक्ष्म अनुसन्धान भईरहेको बताए । 

उनले घटनामा सलग्नको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको र शकास्पद अन्यको खोजी कार्य भईरहेको भन्दै अनुसन्धानमा कुन किसिमको लापरवाही नभएको दावी गरे । 

मृतक थापाको हत्या भएको चार दिन भएपनि शव सेती अञ्चल अस्पतालमै छ । मृतककी आमा सिता थापाले आफनो छोरोको हत्यारालाई सार्वजनिक नगरेसम्म शव पनि नबुझने बताईन ।