धनगढी उप-महानगरपालिकाले ल्यायो एक अर्ब ६३ करोड बजेट

धनगढी उप-महानगरपालिकाले ल्यायो एक अर्ब ६३ करोड बजेट

धनगढी : सुदूरपश्चिमको एक मात्र उप-महानगरपालिका धनगढी उप महानगरपालिकाले करिब १ अर्ब बजेट घटाएको छ । गत बर्षको तुलनामा करिब १ अर्ब बजेट कम ल्याएको हो । आगामी आर्थिक बर्ष २०७७÷७८ का लागी बुधबार आयोजित नगरसभामा उप महानगरपालिकाकी उप प्रमुख शुसिला मिश्र भट्टले बजेट प्रस्तुत गरेकि हुन् ।

उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६÷७७ का लागी गत बर्ष २ अर्ब ५१ करोड बजेट बिनियोजन गरेको थियो । यस बर्ष भने कोरोनाका कारण आम्दानी घटेको भन्दै उप महानगरपालिकाले ८८ करोड बराबर बजेट घटाएको हो । 

धनगढी उपमहानगरले आर्थिक बर्ष २०७७÷०७८ का लागि १अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको हो । प्रस्तुत बजेट अनुसार पुँजिगत तर्फ ७८ करोड मात्रै बजेट प्रस्तुत भएको छ ।

र चालु खर्च तर्फ ८५ करोड बजेट प्रस्तुत भएको हो । बजेटमा आय तर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।

बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्रार्थमिकतामा राखिएको छ । यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ । 

कोरोना महामारीलाई मध्यनजर गरि स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर निति कार्यक्रम तथा बजेट आएको उप महानगरपालिकाका मेयर नृप बहादूर वडले बताए । बढ्दो बेरोजगारी लाई न्युनिकरण गर्ने कृषि क्षेत्र लाई मुख्य प्राथमिकता दिई बजेट प्रस्तुत भएको मेयर वडले बताएका छन् । साथै बजेट कार्यान्वयनका लागी समयमै अख्तियारी दिइने समेत मेयर वडको दावी छ । 

उप महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा भने बिपक्षी नगरसभा सदस्यहरुले भने टिप्पणी गरेका छन् । उप महानगरपालिकाले यतिबेला केही नयाँ र देखाउन लायक कार्यक्रम ल्याउनुपर्नेमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको नेकपाबाट निर्वाचित नगरसभा सदस्य तथा धनगढी उप महानगरपालिका ३ का अध्यक्ष बल बहादूर ऐरले बताए । सबै क्षेत्रलाई समेटेर बजेट बिनियोजन गर्नुपर्ने उप महानगरले त्योपनि गर्न नसकेको ऐरले बताएका छन् ।