निर्मला प्रकरण : झण्डै एक हजारको कल डिटेल हेरियो, थप तीनजनाको डीएनए परीक्षण गरिँदै

निर्मला प्रकरण : झण्डै एक हजारको कल डिटेल हेरियो, थप तीनजनाको डीएनए परीक्षण गरिँदै

धनगढी :बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धान जारी छ । 

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले कञ्चनपुरमै रहेर घटनाको अनुसन्धान जारी राखेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । 

निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि त्यसमा संलग्नको पहिचान भने अझै हुन सकेको छैन । हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खास्तीमा परेका छन् । अन्य ६ जना प्रहरी निलम्बनमा छन् । 

कञ्चनपुर प्रहरीका डिएसपी कृष्णराज ओझा घटनाको विभिन्न कोणबाट अनुसन्धान जारी रहेको बताउँछन् । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद थप ३ जनाको डिएनए परीक्षणको तयारी गरिएको छ ।त्यसमध्ये एकजनामाथि बढी शंका रहेको प्रहरी दावी छ । 

प्रहरीले झण्डै डेढ साताअघि मात्रै ४ जनाको डिएनए परीक्षणका लागि रगत संकलन गरेर केन्द्रीय प्रयोशालामा पठाएको थियो । डिएनए परीक्षण गर्न लागेकाहरु सबै भीमदत्तनगर क्षेत्रभित्रकै भएको स्रोतको दाबी छ । 

प्रहरीले डिएनए परीक्षणका लागि तयारी गर्नुअघि शंकास्पद व्यक्तिको गतिविधि, पछिल्ला घटनाक्रममा उनीहरुको भूमिका तथा व्यवहार आदि अध्ययन गरेको थियो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार निर्मला हत्यामा चिनजानकै व्यक्तिको संलग्नताको सम्भावना बढी छ । 

अनुसन्धानका क्रममा प्रहरीले हालसम्म झण्डै १ हजारको ‘कल डिटेल’ अध्ययन गरेको छ । ‘कल डिटेल’ हेर्ने क्रममा झण्डै ३ सय बढीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमै बोलाइएको थियो । प्रहरीले शंकास्पद १६ जनाको फेसबुक आइडीमाथि पनि अनुसन्धान थालेको छ । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमै बोलाएर आइडी र पासवर्ड मागेर उनीहरुको कुराकानीलाई अनुसन्धान टोलीले केलाइरहेको छ ।

झण्डै ३ महिनादेखि सिआइबीको विशेष टोली र राष्ट्रिय अनुसन्धान विभागको गोप्य टोली कञ्चनपुरमै छ ।