धनगढीमा एलपीएल सुरु : सिद्धार्थ र क्यास्पियनको विजयी सुरुवात

धनगढीमा एलपीएल सुरु : सिद्धार्थ र क्यास्पियनको विजयी सुरुवात

धनगढी : धनगढीमा मगलवारदेखि सुरु भएको तेश्रो संस्करणको निष्ट लिटिल फ्लावर प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमी धनगढीले विजयी सुरुवात गरेका छन । 

मगलवार उद्ध्घाटन खेलमा सिद्धार्थ शिशु सदनले निस्ट स्कुल काठमाण्डौलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरु गरेको हो । 

टस जितेर पहिलो ब्याटिङ गरेको सिद्धार्थले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । सिद्धार्थका लागि ओपनर गजेन्द्र बोहराले सर्वाधिक १८, सुरेन्द्र साउदले अविजित १५ र खडक बोहराले १४ रनको योगदान दिनुभयो । 

६४ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको निस्ट स्कुल काठमान्डौले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै मात्र ५९ रन जोड्न सफल भयो । 

निस्टको लागि ब्याटिङमा शिशिर केसिले सर्वाधीक १९ र कप्तान सोहन यादवले १४ रन जोडेपनी टिमलाई जित दिलाउन सकेनन । बलिङतर्फ सिद्धार्थका प्रकाश थापाले २ ओभरमा ६ रन खर्चंदै २ महत्त्वपूर्ण विकेट लिनुभयो । 

टिमका लागि उत्कृष्ट बलिङ गरेका प्रकाश थापा खेलको म्यान अफ द म्याच समेत घोषणा हुनुभयो । 

मगलवार भएको दोस्रो खेलमा क्यासपीएन एकेडेमीले शारदा उच्च मा.बि धनगढीलाई १४ रनले पराजित गरेको छ । क्यास्पियन एकेडेमीले जितको लागि दिएको १०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा मा बि १६ दशमवल ३ ओभरमा मात्र ८७ रनमै समेटिएको थियो । 

शारदाको ब्याटिङमा दिपक टमटाले सर्वाधिक ३४ र राहुल भण्डारीले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले दोहोरो रनको स्कोर बनाउन सकेनन । 

बलिङतर्फ क्यास्पियनका रोशन अधिकारिले सर्वाधिक ६ विकेट लिए भने निराजन रावलले २ विकेट लिनुभयो । 

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको क्यास्पियन एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । ब्याटिङमा क्यास्पियनका दिनेश अधिकारीले सर्वाधिक ३०, प्रकाश पाठकले २० तथा निर्शद बोगटीले १८ रनको योगदान दिनुभयो । 

४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका क्यास्पियनका रोशन अधिकारि दोश्रो खेलका म्यान अफ द म्याच घोषणा हुनुभयो । 

LPL

प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । 

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निस्ट कलेज लैनचौर काठमाण्डौँको प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा देश भरिबाट १२ टिमले सहभागिता जनाएका छन । 

मङ्सिर ४ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन् ।