क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् । 

थप १३ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४२ पुगेको काउन्टीका प्रहरी अधिकारी कोरी होनेआले पत्रकार सम्मेलनमा बताउनु भएको छ । यसअघि २९ व्यक्तिको मृत्यु भएको बताइएको थियो । 

अमेरिकी सञ्चार माध्यमहरुले विभिन्न स्रोत उल्लेख गरी अझ २०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिहरुको खोजी, उद्धार र आगो निभाउने कार्यमा करिब आठ हजार अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ । 

डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुश्किलले मात्र देखिएको बताइएको छ । भूइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ ।     

डढेलो प्रभावित क्षेत्रका हजारौ व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ । बिहीबार बिहान सुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो । 

डढेलोका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी ६ हजार ७०० भन्दाबढी भवन क्षतिग्रस्त भएका छन् । 

डढेलो लागेको जङ्गलमा लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।