अन्य रोगसँगै कोरोना देखिए कोरोनाकै कारण मृत्यु भन्न नमिल्ने

अन्य रोगसँगै कोरोना देखिए कोरोनाकै कारण मृत्यु भन्न नमिल्ने

सरकारले कोरोनाभाइस (कोभिड १९) को बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको अवस्थामा मात्रै कोभिडबाट मृत्यु भएको मानिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ का कारण  मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि’ संक्षिप्त कार्यविधि २०७६ लाई संशोधन गरी कोरोना संक्रमण देखिए पनि कोरोनाबाहेक अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ बाट मृत्यु भएको नमानिने नियम बनाएको हो ।

“कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ को क्लिनिकल लक्षण तथा चिह्नहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ । कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन,”संशोधित कार्यविधिमा भनिएको छ ।

त्यसैगरी, बेवारिसे व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएमा वा त्यसको शंका लागेमा त्यस्तो व्यक्तिको शवलाई भने गाड्ने कार्यविधिमा उल्लेख गरिएको छ । अघिल्लो कार्यविधिमा मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड १९ का कारण मृत्यु भएको मान्ने गरिएको थियो ।