घर नपठाएको भन्दै क्वारेन्टिनमै कुटिए स्वास्थ्यकर्मी

घर नपठाएको भन्दै क्वारेन्टिनमै कुटिए स्वास्थ्यकर्मी

रौतहटको राजपुर नगरपालिकामा कोरोना भाइरसको पिसिआर रिपोर्ट निगेटिभ आउँदा पनि घर नपठाएपछि क्वारेन्टिनमै स्वास्थ्यकर्मी कुटिएका छन ।

राजपुर नगरपालिका वाड नंं ९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टिनमा रहेकाहरुको आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मी कुटिएका हुन् । क्वारेन्टीनमा रहेकाहरुले ब्यक्तीहरुको एक समुहको कुटाइबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सह(संयोजक तथा सिनियर अहेव शेख खुसैद र स्वास्थ्यकर्मी र राम नरेश साह घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको राजपुर नगरपालिकाका स्वासथ्य शाखा संयोजक रबिन्द्र झाले जानकारी दिएका छन् । उक्त क्वारेन्टीनमा रहेका मध्ये १ सय ८४ जनाको पिसिआर रिर्पोट निगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकाल्नको लागी आरडिटी टेष्ट गरिएको थियो ।

आरडिटी टेष्ट गर्दा निगेटिभ आएकाहरुलाई मात्रै घर पठाउने निर्णय भए अनुसार परिक्षण शुरु गरेको र केही ब्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि एक्कासी आक्रमण गरेको स्वास्थ्य संयोजक झाले जानकारी दिए । पिसिआर रिपोर्ट निगेटिभ आएको भएतापनि घर जाने बेलामा आरडिटी परिक्षण गराएर मात्रै पठाउने नगरपालिकाको निर्णय भएको उनले बताए । सो क्वारेन्टीनको माथिल्लो तलामा ७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

पिसिआर रिर्पोट निगेटीभ आएपछि आफुहरु घर जान पाउनु पर्ने क्वारेन्टीनमा बस्नेहरुको माग छ । उनीहरुले ३ वटा मोटरसाइकल समेत फोडेको राजपुर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत बैजु ठाकुरले जानकारी दिएका छन् । घाइतेहरुलाइ थप उपचारको लागि गौर ल्याउने तयारी भएको ठाकुरले जानकारी दिए ।

अहिले त्याहाको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायब निरिक्षक दिपक कुमार गुप्ताले जानकारी दिएका छन् । स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यता आज रौतहटमा ११ जनामा नया कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । योसंगै रौतहटमा संक्रमतिको संख्या ३ सय ३८ जना पुगेको छ । बुधबार कटहरियामा ९, इशनाथमा १ र परोहा नगरपालिकामा १ जना थपिएका हुन् । केहीदिन यता रौतहटमा संक्रमितको संख्या ह्वातै बढेको छ ।