अछामको बयालपाटा अस्पतालका ३३ जना कर्मचारी हटाइए

अछामको बयालपाटा अस्पतालका ३३ जना कर्मचारी हटाइए

अछाम : न्याय हेल्थ नेपाल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले सञ्चालन गरेको अछामको बयालपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै ३३ जना कर्मचारीको जेठदेखि करार थप गरेको छैन । पूर्व जानकारी बिनानै अस्पतालले कर्मचारी हटाएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । 

‘यस्तो महामारीको बेला हामी बेरोजगार मात्रै भएका छैनौं । रोडमा बस्न बाध्य भएका छौं’ करार सम्झौता थप नभएका एक स्वास्थ्यकर्मीले भने, ‘आर्थिक अभावले करार थप नगरिएको भनेर बाहिर सूचना निकालिएको छ ।

तर हरेक विभागबाट सबैभन्दा कम तलब खाने कर्मचारी हटाइएका छन् । ५५ हजार माथि देखि ८ लाख तलब खानेसम्मलाई शक्ति र पहुँचको आडमा राखिएको छ ।’ अस्पतालले कर्मचारी हटाउँदा विभेद गरेको उनको आरोप छ ।

विदेशबाट आउने अनुदान कम भएपछि थप करार सम्झौता गर्न नसकिएको बयालपाटा अस्पताल अछामका हेल्थ केयर डाइरेक्टर डा. विकास गौचनले बताए । ‘विदेशबाट आउने सहयोग कम भएको दुई वर्ष भयो । केन्द्र र प्रदेश सरकारलाई पटकपटक हारगुहार गर्दा पनि सहयोग पाइएन,’ उनले भने, ‘चालु आिर्थक वर्षमा पनि साढे ५ करोड बजेट कम आएको छ ।’

आर्थिक अभाव भएपछि यसअघि नै कर्मचारीको सेवा सुविधादेखि धेरै सुविधा कटौती गरेको डा. गौचनले बताए । ‘करार सम्झौता थप गर्न नसकिने कुरा दुई महिना अगाडि उहाँहरुलाई नै खबर गरेका छौं,’ उनले भने, ‘अनुशासन कामकारबाही, कार्य सम्पादन मूल्याकंनको आधारमा करार थप नगरेका हौं । आर्थिक संकट भित्रभित्रै आएको त धेरै भयो ।’ कान्तिपुरबाट