कोरोना परीक्षण निजीलाई पनि दिने तयारी

कोरोना परीक्षण निजीलाई पनि दिने तयारी

 सरकारले भारतसहित तेस्रो मुलुकबाट नागरिक ल्याउने तयारी गरेसँगै कोभिड–१९ को परीक्षण निजी तथा सामुदायिक अस्पताललाई पनि दिने तयारी गरेको छ ।

अहिले मुलुकभर विभिन्न २० स्थानमा पीसीआर परीक्षण हुन्छ  । सरकारी स्वामित्वका अस्पतालमा मात्रै कोभिड–१९को परीक्षण ल्याब स्थापना गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले तय गरेको प्रोटोकल पछ्याउँदै परीक्षण गरिँदै आएकोमा अब त्यसको दायरालाई बढाउन लागेको स्रोतले जानकारी दियो ।
 
“अब कार्यविधि बनाएर निजी क्षेत्रलाई पनि सहभागी गराउने योजना बनाइरहेका छौं । कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समिति, स्वास्थ्य मन्त्रालयले एक खालको योजना तर्जुमा गरेको भए पनि कसरी दिने भन्ने तय भइसकेको छैन,” कोरोना सङ्क्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले बाह्रखरीसँग भने ।
स्वास्थ्य मन्त्रालयको जेठ ६ गते बसेको बैठकले आर–पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमति रिपोर्टिङ गर्ने शर्त अनिवार्य पालना गर्ने गरी तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरूमार्फत तोकिएको दररेटमा परीक्षण सशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो ।