कैलालीका ५ जना कोरोना संक्रमितलाई सेती अस्पतालले भर्ना गरेन

कैलालीका ५ जना कोरोना संक्रमितलाई सेती अस्पतालले भर्ना गरेन

धनगढी : कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए ।

अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए । कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्यामा परेको उनी बताउँछन् ।स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए ।

सेती प्रादेशिक अस्पतालका अनुसार शैय्या अभावका कारण संक्रमितलाई राख्न नसकेको हो । अस्पतालमा २४ शय्याको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले थप ४ जनालाई राख्न नसकेर फर्काएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।