छुवाछुतमा आधारित अपराधका दोषीलाई कानूनी दायरामा ल्याउँछौँ – प्रधानमन्त्री ओली

छुवाछुतमा आधारित अपराधका दोषीलाई कानूनी दायरामा ल्याउँछौँ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

छुवाछुतमा शून्य सहनशीलताको नीति अपनाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटनाहरु भइरहेकोमा चिन्ता व्यक्त गरे ।

‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं,’ प्रधानमन्त्री ओलीद्वारा जारी सन्देशमा भनिएको छ, ‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।’