क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम !

क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम !

कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ ।

क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि सरकारले कस्तो उपहार देला ? भारतको बिहारमा चाहिँ १४ दिन क्वारेन्टाइनमा बसेका प्रवासी मजदुरहरुको हातमा कण्डम उपहार थमाएर घर पठाइएको छ ।

बिहारको गोपालगंज जिल्लामा स्वास्थ्य विभागको पहलमा यस्तो अभियान सुरु गरिएको हो । सरकारी अधिकारीका अनुसार १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरिसकेका प्रवासीहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गरिनेछ ।

भारतका विभिन्न प्रान्तहरुबाट त्यहाँ आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोरोनाबाट उच्च प्रभावित कतिपय राज्यबाट फर्किएकाहरुलाई क्वारेन्टाइन सेन्टरमा राखिनेछ भने अन्य राज्यबाट आएकालाई १४ दिनको होम क्वारेन्टाइनमा राखिनेछ ।

होम क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई समेत १४ दिनको अवधि पश्चात् स्वास्थ्यकर्मीहरुले घरमै गएर परीक्षण गरी कण्डमको प्याकेट उपहार दिनेछन् ।