बाजुरामा क्वारेन्टिनमै जन्मियो बच्चा

बाजुरामा क्वारेन्टिनमै जन्मियो बच्चा

बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गए राति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन् ।

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उनले बताए ।

सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताइन् । उनका अनुसार क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ ।