नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।

नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।