वीरगञ्‍जको कोरोना विशेष अस्थायी अस्पतालबाट २१ जना डिस्चार्ज, नेपालमा निको हुने १७६ पुगे

वीरगञ्‍जको कोरोना विशेष अस्थायी अस्पतालबाट २१ जना डिस्चार्ज, नेपालमा निको हुने १७६ पुगे

वीरगञ्‍ज नारायणी उपक्षेत्रीय अस्पतालको कोरोना विशेष अस्थायी अस्पताल गण्डकको आइसोलेसनमा रहेका २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्लो पटक गरिएका कोभिड-१९ परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरूलाई गएराति डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए।

कोरोनामुक्त भएर डिस्चार्ज हुनेमा चारजना महिला र १७ जना पुरुष छन्। उनीहरू सबै वीरगञ्‍ज महानगरपालिका बासिन्दा हुन्।

उक्त अस्पतालमा ३० जना संक्रमित भर्ना गरिएको थियो। २१ जनालाई डिस्चार्ज गरिएपछि अस्पतालमा अब ९ जना मात्र बाँकी छन्।

वीरगञ्जको छपकैयामा संक्रमित बढेपछि नारायणी अस्पतालको आइसोलेसनले क्षमताले नभ्याएपछि गण्डकमा अस्थायी आइसोलेसनसहितको अस्पताल बनाइएको थियो। २१ जना पर्साबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७६ पुगेको छ।