भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरे २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज

भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरे २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति राष्‍ट्रका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका छन्।

कोभिड-१९ महामारी फैलिन नदिन लागू गरिएको लकडाउनयता उनको यो पाँचौं सम्बोधन हो। त्यसक्रममा लकडाउनलाई निरन्तरता दिने घोषणा पनि गरे।

लकडाउनको चौथो शृंखला अलग रंग-रूपको हुने उनले बताए। “यो यति ठूलो संकट हो कि ठूलाभन्दा ठूला अर्थव्यवस्था पनि धरमराएका छन्,” उनले भने।

आफूले घोषणा गरेको आर्थिक प्याकेज भारतको उद्योग क्षेत्रका लागि भएको उनले बताए। “यो आर्थिक प्याकेज कुटिर, घरेलु, लघु र मझौला उद्योगका लागि हो, जो करोडौं मानिसको आजीवीकाका साधन हुन्,” मोदीले भने, “यिनै उद्योग आत्मनिर्भर भारतको संकल्पका प्रमुख आधार पनि हुन्।”