संसदीय दलको नेता छान्नका लागि अन्तिम कसरतमा काग्रेस : नेता छान्न सकस

संसदीय दलको नेता छान्नका लागि अन्तिम कसरतमा काग्रेस : नेता छान्न सकस

धनगढीः सरकार गठन भएको तिन महिनासम्म पनि प्रदेश ७ मा संसदीय दलको नेता छान्ने नसकेको नेपाली कांग्रेस शनिबार नेता छान्नका लागि अन्तिम कसरतमा जुटेको छ। तिन महिनासम्म दलको नेता छान्न नसकेको कांग्रेसले केन्द्रबाट एनपी सावदलाई धनगढी पठाएको छ।

तिनदिनअघि धनगढी पुगेका सावद संसदीय दलको नेता चयन गर्न लगातार छलफल गरी रहेका छन्। तर पनि, आकाङक्षी धेरै भएपछि नेता छान्न हम्मेहम्ये परेको छ। संसदीय दलको नेतामा कैलालीको टीकापुरबाट निर्वाचित डा. रण बहादुर रावल, डडेल्धुराबाट निर्वाचित कर्ण मल्ल र डोटीबाट निर्वाचित भरत बहादुर खड्का आकांक्षी हुन्।

नेपाली कांग्रेस स्रोतका अनुसार आकांक्षी यी तिन जनाले संसदीय दलको नेता आफूले पाउनु पर्ने अडान राखेका कारण तीनदेखिको छलफलले नेता चयन गर्न सफल हुन नसकेको हो। नेता छान्नका लागि तिन दिन देखि लगातार छलफल जारी रहेपनि अहिलेसम्ममा सहमति जुट्न नसकेको संसदीय दलका आकांक्षी रावलले बताए।

उनले शनिबार संसदीय नेताको लागि सहमति नबने पनि आइतबार सर्वसहमतिबाट नेता छान्ने दाबी गरे। तर नेपाली कांग्रेसका नेताहरुले शनिबार सम्म नेता चयनको लागि अन्तिम प्रयास गरिने र सहमति नभए निर्वाचनबाट भए पनि नेता छनोट गर्ने बताउँदै आएका थिए। जसका लागि अधिवक्ता प्रयागराज भट्टलाई निर्वाचन अधिकृत समेत तोकिएको छ। 

ससदमा शक्तिशाली मानिने प्रतिपक्षी दलको नेता बन्नका लागि आकांक्षी तीन .जना कस्सिएर लागि परेका छन्। विपक्षी दलको नेताले गाडी, मासिक ५३ हजार २ सय ५० रुपैयाँ प्राप्त गर्नुका साथै आवास भत्ताका लागि १२ हजार रुपैयाँ बुझेन भएकाले पनि कांग्रेसमा नेता बन्नका लागि हानथाप भएको हो।

अर्का आकाङक्षी कर्ण मल्लले पनि सहमतिमा नै नेता चयन हुने विषयमा जोड दिए। अन्य प्रदेशमा सहमति र मर्यादाक्रमको आधारमा नेता चयन गरिएकाले ७ नम्बर प्रदेशमा पनि सोही आधारमा चयन हुने उनको दाबी छ। 

प्रदेश सरकारको काम कारबाहीमा समर्थन र विरोध गर्ने भूमिका प्रतिपक्षी दल रहने भए पनि संसदीयको नेता छान्न नसक्दा कांग्रेस आफै अन्योलमा छ। सरकारको पहरेदार मानिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता विहीन हुँदा ससदमा अपेक्षाकृत रूपमा प्रस्तुत हुन सकेन। करिब ३ महिना बसेको ससदको पहिलो अधिवेशनमा कहिल्यै पनि विरोधका आवाज सुनिएन।

संसदीय दलको नेताको टुंगो नलाग्दा संसदको सूचना जानकारी देखी पार्टीका काम कार्वाहीहरु प्राभावित भएको स्वयम् कांग्रेसका सांसदहरूले गुनासो गर्ने गरेका छन्।