कोरोना कहर संगै तरंगित नेपाली राजनीति

कोरोना कहर संगै तरंगित नेपाली राजनीति

यतिबेला विश्व आक्रान्त छ, आक्रान्त बन्नुको एउटै कारण हो,नोबेल कोरोना भाइरस (कोभिड–१९), कोरोना भाइरसकै कारण विश्वका २ सय भन्दा बढी  देशहरू लकडाउनमा छन् । लाखौँ मान्छेहरू कोरोनाबाट संक्रमित छन्, लाखौँले ज्यान गुमाइसके, केहीलाई लाई सन्चो पनि भइरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ, भने केही ठिक भएर फर्की पनि सकेका छन् ।

विश्वका सबै देशहरू यति बेला कोरोना बाट कसरी बच्ने र बचाउने भनेर हातेमालो गर्दै लडिरहेका छन् । त्यहाँको सरकार, राजनीतिक दल, सङ्घ–संस्थाहरु, पनि खटिरहेका छन्, यही अवस्थामा नेपाल मात्र एउटा यस्तो देश हो, जहाँका हजारौँ नागरिकहरू अहिलेसम्म सिमानामा अलपत्र छन् भने देशभित्र रहेकाहरू पनि सुरक्षित अनुभूति गरिरहेका छैनन्, सङ्कटको बेला सरकार संवेदनशील बनेर किन काम गर्न सकिरहेको छैन ?

किन देशका प्रत्येक अस्पतालहरूमा पर्याप्त सामाग्री पठाउन सकेको छैन ? सङ्कटमा पनि भ्रष्टाचारको गन्ध किन आइरहेको छ ? किन सर्वहारा वर्गको पार्टी भनेर चुनावमा खोक्नेहरू सरकारमा हुँदा मजदुर, किसान, गरिब अझै भनौ सबै श्रमजीवी वर्गलाई राहत पुगिरहेको छैन ? शासकहरू जिम्मेवार किन बनिरहेका छैनन् ? सबै मिलेर लड्ने बेलामा कुर्सीकै मात्र कुरा किन आइरहेको छ ?

के सरकार हाँक्ने पात्रहरू कुर्सी तानातान मै व्यस्त हुन त ? शासक सत्तामा पुगेपछि किन बिर्सिन्छन् चुनावी बाचाँ ? आखिर कसको लागि पछार्न र ढाल्नमै व्यस्त हुन्छन् ? यी र यस्तै प्रश्नहरू आम सर्वसाधारणको मनमा अडिएका छन् । यिनै प्रश्न संगैै एक जना राजनीतिक विश्लेषकले भनेको सम्झिन्छु म–

“सरकार बनाउनु र ढलाउनु नै संसदीय व्यवस्था हो,बहुदलीय प्रतिस्पर्धा हो,अनि त्यही नै लोकतन्त्र  हो । मरुन्जेलसम्म सरकारमा बसिरहन चाहने, कुर्सीमा बसिरहन चाहने गलत मनोवृत्ति भएका केही सीमित व्यक्तिहरू बाट राजनीति फोहोरी खेल हो भन्ने पहिले नै जनजाहेर थियो तर यति सम्मको घृणित पनि हुँदो रहेछ, कुर्सिको लागि शासकले कति सम्मको घृणित काम गर्दा रहेछन् भन्ने प्रमाणित कोरोना संग देश आक्रान्त बनेको बेला सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूले गरेका कर्तुतले ग¥यो ।”


देशमा रहेका सत्तापक्ष, प्रतिपक्ष र सानादलहरू संगैै मिलेर कोरोना विरुद्ध हातेमालो गरेर लडौँ भनेर शासकहरूलाई किन चेत भएन होला ? त्यसैले त भन्न मन लाग्छ, मरेर जाँदा पनि कुर्सी संगै लगेर जान्छु भन्ठानेका छन् कि के हो ? 

अध्यादेश मार्फत सत्ता जोगाउने र सत्ता परिवर्तन गर्ने खेल ? भ्रष्टाचारको गन्ध ? जनप्रतिनिधि अपहरण ? सामाजिक सञ्जालमा लेखेकै कारण हिरासतमा ? यस्ता घृणित कामले लोकतन्त्रको गला निमोठ्ने हर्कत भएको ठहरिन्छ । यहाँ देशको उच्च पदस्थ व्यक्ति सुरक्षित छैनन् भने आम सर्वसाधारण कसरी सुरक्षित हुन सक्छन्, लोकतन्त्र छ भन्ने आभास कसरी होला ?

"के सोच्दा हुन ती नाकामा रोकिएका नागरिकहरू, आफैले पठाएको रेमिटेन्सले चलेको आफ्नै देश छिर्न नपाउँदा । चुनावका बेलामा घर–घर पुगी मतदाता नामावली हेरी–हेरी मासु, भात, गाडीको बन्दोबस्त गर्नेहरूले आज सिमाना र सडक पेटीमा आफ्ना नागरिक अलपत्र छोडेको बाटो नै बुझौँ कि ? यो देश सदैव यी नेताहरूको स्वार्थको बन्दी बन्यो । यिनीहरूले जे गर्दा पनि हामीले सहिरहनुपर्ने, जे बोल्दा पनि ताली पड्काइ रहनुपर्ने, आखिर कहिलेसम्म ? "

यो मुलुकलाई केही सीमित व्यक्तिले बन्धी बनाएको छ भन्दा फरक पर्दैन । नाम लोकतन्त्रको दिन्छन्, काम लुटतन्त्र र मनपरितन्त्र मच्चाइरहेका छन् ।

देश र जनताको कहिल्यै मतलब भएन नेता ज्युहरूलाई, सधैँ पद, पैसा र पावर भए पुग्ने ? धिक्कार छ, यिनले गर्ने राजनीति लाई नै अब छिः भन्ने अवस्था आएको छ ।

हुन त हामी नि त्यस्तै मूर्ख छौ, आर्यघाटमा लैजानुपर्ने पितृहरू नेतृत्वमा छन्, यिनलाई मर्ने बेलामा न देशको माया न जनताको ? कहिलेसम्म हामीले यी लोभी, भ्रष्टहरूलाई नेता मानिरहनुपर्ने ?

तै पनि मुटु माथि ढुङ्गा राखी भन्नुपरेको छ, सबैभन्दा उत्कृष्ट व्यवस्था नै यहीँ हो । यदि यो युगमा पनि हामी युवाले लेख्न र बोल्न छोड्यौ भने अभागी कहलिने छौ, भावी पुस्ताले धिक्कार्ने छ ।