मलेसियामा रहेका नेपालीलाई व्यक्तिगत विवरण भर्न दूतावासको आग्रह

मलेसियामा रहेका नेपालीलाई व्यक्तिगत विवरण भर्न दूतावासको आग्रह

मलेसियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो ।

दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिने जनाइएको छ । यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ ।

जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो ।

मलेसियामा एकैदिन थप ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ३८३ पुगेको छ  । मलेसियामा संक्रमितमध्ये ४ हजार ५६७ जना उपचारपछि निको भएका छन् ।

कोरोना संक्रमित १ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ ।