पीपीएल : रोमाञ्चक खेलमा धनगढी २ विकेटले विजयी

पीपीएल : रोमाञ्चक खेलमा धनगढी २ विकेटले विजयी

पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै एक्स्पर्ट धनगढी ब्लुज शीर्ष स्थानमा उक्लिएको छ ।

धनगढी ब्लुजले  पोखरालाई २ विकेटले पराजित गरेको हो । पोखराले दिएको एक सय ४५ रनको लक्ष्य  धनगढीले ८ विकेटको क्षतिमा १९.५ ओभरमा एक सय ४८  रन बनाउदै पुरा गर्याे ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २६ बलमा ४९ रनको विस्फोट ब्याटिङ गर्नुभयो । सुवेन्दु पाण्डेले २२ रन , पिटर टग्रोले ५३ रनको योगदान गर्नुभएको थियो ।

पोखराको लागि रसिद खानले सर्वा्धिक ४ विकेट, ललित राजवंशी र विक्रम पाण्डेले २ र २ विकेट लिएका हुन ।यसअघि टस जित्दै ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो ।

पोखराका लागि ओपनर कुशल भुड्तेल ३ रनमा र आसिफ शेख २३ रन बनाइ आउट हुनुभयो । यस्तै इन्दर सिंहले २८ रन, कप्तान शरद भेषवाकरले १४ रन , विनोद भण्डारीले ७ रन , मोहम्मद नभिद ११ रन र रोहित पौडेलले ३१ रनको योगदान गर्नुभयो ।

पोखराका लागि राशिद खान १५ रन र विक्रम भुषाल ८ रनमा अविजित रहनुभयो । धनगढीका लागि कमल सिंह ऐरीले सर्वा्धिक ४ विकेट लिएका हुन ।

रोविन क्षेत्री, पिटर टेग्रो समान र ड्यान लरेन्सले समान १ र १ विकेट लिएका थिए । जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ ।

तर धनगढीले प्ले अफमा पुग्नका लागि भने अन्य टिमको नतिजामा भर पर्नुपर्ने हुन्छ । यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ ।

लिगको शीर्ष स्थानमा पुग्ने टिम फाइनलमा प्रवेश गर्ने छ भने दोस्रो र तेस्रोले प्ले अफ खेलेर फाइनल प्रवेश गर्ने छ ।