अमेरिकन आइडलको उत्कृष्‍ट १० मा पुगे दिवेश पोखरेल

अमेरिकन आइडलको उत्कृष्‍ट १० मा पुगे दिवेश पोखरेल

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको उत्कृष्‍ट १० मा पर्न सफल भएका छन्।उत्कृष्‍ट २० जनाबाट धेरै भोट पाएर उनी उत्कृष्ट १० जनाभित्र पर्न सफल भएका हुन्।

हिजो पनि दिवेशले दमदार प्रस्तुति दिए। उनको प्रस्तुतिलाई निर्णायकले 'तिम्रो लजालुपन नै तिम्रो गोप्य हतियार' भएको संज्ञा दिएका थिए। कोरोना भाइरसको संक्रमणको जोखिमका त्रासका कारण उनले घरबाटै प्रस्तुति दिएका थिए।

‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका दिवेश यसअघि उत्कृष्‍ट २० मा थिए।उत्कृष्‍ट १० मा पुगेको खुशीमा दिवेशले सामाजिक सञ्जाल मार्फत् भोट गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यसअघि नेपाली भाषामै भोट अपील गर्दै उनले भनेका थिए, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरूको भोटको आवश्यकता छ।'

उनलाई टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सकिनेछ। यसका लागि एकजनाले ३० पटक भोट गर्न मिल्छ। अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो नेपाली गायक हुन्।

उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए। काठमाडौंमा हुर्किएका दिवेश उच्च शिक्षाका लागि अमेरिकामा आमा बुबासँगै बस्दैं आएका छन्।