धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १२ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई चाडो सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ ।
नेपालीहरुको महान् चाड दशैँलाई मध्यनजर गर्दै केही समयका लागि रोकिएको आन्दोलन फेरि सुरु भएको हो ।
निर्मलाका बुबाआमाको उपस्थितिमा सोमवार महेन्द्रनगरमा बृहत प्रदर्शन समेत गरिएको छ । महेन्द्रनगरको मदनचोकबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
त्यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत तारानाथ अधिकारीमार्फत गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाईएको छ।
आइतबार बसेको सर्वपक्षीय बैठकले ¥याली सहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरे बमोजिम प्रदर्शनसहित गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले जानकारी दिनुभयाे ।
उहाँले निर्मलाका हत्यारा पत्ता नलागेसम्म दबाबमूलक जुलुश, प्रदर्शन र ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम जारी रहने जानकारी दिनुभयाे ।
ज्ञापन पत्रमा निर्मला हत्या प्रकरणमा कात्तिक ८ गते वर्खास्त गरिएका तत्कालिन कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक डिल्लिराज विष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई कानुनी कारवाही गर्न माग गरिएको छ ।
गत साउन १० गते साथीको घर जान हिँडेकी निर्मला साउन ११ उखुवारीमा गते मृत फेला परेकी थिइन् । उहाँको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि हत्याराको अझै पहिचान हुन सकेको छैन ।
त्यसैले चाडो अपराधि पत्ता लगाएर पिडित परिवारलाई न्याय दिन आग्रह गरिएको छ ।