सुदूरपश्चिम प्रदेशमा इन्धनको खपत बढ्यो, भण्डारण क्षमता बढेन

सुदूरपश्चिम प्रदेशमा इन्धनको खपत बढ्यो, भण्डारण क्षमता बढेन

धनगढी : सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको खपत बर्सेनि ३० देखि ४० प्रतिशतले वृद्धि भइरहेको छ तर माग अनुसारको भण्डारण क्षमता नहुँदा बेला बेला इन्धनको अभाव भइरहने  समस्या छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले देशको समग्र पेट्रोलियम पदार्थको खपत २० देखि २२ प्रतिशतले वृद्धि भएका बेला सुदूरपश्चिम प्रदेशमा ३० देखि ४० प्रतिशले वृद्धि भएको जनाएको छ ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सडक, पुल, जलविद्युत परियोजना लगायत अन्य भौतिक पुर्वाधारको विकास बढेसँगै पेट्रोलियम पदार्थको खपतमा पनि वृद्धि भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताउनुभयो ।

सबैभन्दा बढी हवाई इन्धनमा वृद्धि

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी हवाई इन्धनमा १ सय ३७ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२ र ७३ मा १० हजार ७ सय ३२ लिटर इवाई इन्धन खपत भएकोमा २०७३ र ७४ मा ५५ प्रतिशतले वृद्धि भई ९ लाख २५ र २०७४ र ७५ मा १ सय ३७ प्रतिशतले वृद्धि भई २१ लाख ८० हजार लिटर खपत भएको नेपाल आयाल निगमको तथ्याङले देखाएको छ ।

पेट्रोल र डिजेल पनि बढ्दै
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीबाट आर्थिक वर्ष २०७२ र ७३ मा ९० लाख ३६ हजार किलोलिटर पेट्रोल खपत भएकोमा २०७३ र ७४ मा १ करोड ३४ लाख र २०७४ र ७५ मा १ करोड ७५ लाख ५२ हजार लिटर खपत भएको छ ।

त्यस्तै डिजेल आर्थिक वर्ष २०७२ र  ७३ मा ४५ करोड ७३ लाख किलो लिटर बिक्री भएकोमा २०७३ र ७४ मा ४० प्रतिशतले वृद्धि भई ६४ करोड २८ लाख विक्री भएको छ ।

आर्थिक बर्ष २०७४ र ७५ मा २४ प्रतिशतले वृद्धि भएको डिजेल खपत ७९ करोड ८२ लाख पुगेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्माले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय विकास निर्माणले गति लिएँसँगै पेट्रोलियम पदार्थको खपत बढेको उहाँले बताउनुभयो ।

केहीवर्ष पहिले अन्य प्रदेशको तुलनामा थोरै पेट्रोलियम पदार्थको खपत गदै आएको सुदूरपश्चिम प्रदेशमा अहिले देशमा नै १० प्रतिशत बढी पेट्रोलिम पदार्थको खपत बढाएको आयल निगम क्षेत्रीय कार्यालयको दाबी छ ।

अझै पनि मट्टितेल प्रयोग

सुदूरपश्चिम प्रदेशमा खाना पकाउने एलपी ग्यासमा पनि वृद्धि भएको छ । ग्यासमा ३ वर्ष पहिलेको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ ।

एलपी ग्यास आर्थिक वर्ष २०७२ र ७३ मा ४ हजार ३ सय ७२ मेट्रिकटन ग्यास खपत भएकोमा २०७३ र ७४ मा ३१ प्रतिशतले वृद्धि भई ५ हजार ९ सय ४२ मेट्रिकटन ग्यास खपत भएको छ ।

त्यस्तै २०७४ र ७५ मा ३१ प्रतिशतले वृद्धि भई ७ हजार ८ सय २८ मेट्रिकटन ग्यास खपत भएको छ ।

मट्टितेल आयतमा २०७३ र ७४ मा २१ प्रतिशतले घटेको मा २०७४ र ७५ आइपुग्दा ४२ प्रतिशतले वृद्धि भएको छ । अहिले पिच सडक निर्माण र सुरक्षा निकायका भान्सामा खाने पकाउने बेला मट्टितेलको प्रयाग गरिने हुँदा मट्टितेलको आयात बढेको हो ।

बढेन भण्डारण क्षमता
पेट्रोलियम पदार्थको आयात र खपत बर्सेनि बढ्दै गएपनि भण्डारण क्षमता नहुँदा भने समस्या देखिएको छ ।

भण्डारण क्षेत्र बढाउनका लागि निगमले योजना बनाएपनि जग्गा प्राप्त नहुँदा समस्या देखिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्माले गुनासो गनुभयो ।

सुदूरपश्चिम प्रदेशमा दैनिक रुपमा खपत हुने पेट्रोलियम पदार्थका लागि समेत भण्डारण क्षमता नहुँदा बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ ।