पीपीएल : धनगढीको पहिलो शानदार जित, विराटनगर ७८ रनको फराकिलो अन्तरले पराजित

पीपीएल : धनगढीको पहिलो शानदार जित, विराटनगर ७८ रनको फराकिलो अन्तरले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

प्रतियोगितामा दीपेन्द्रसिंह ऐरीको धनगढीको यो पहिलो जित हो भने सन्दीप लामिछानेको बुटवल लगातार दोस्रो खेलमा पराजित भएको छ। यसअघि पहिलो खेलमा धनगढी काठमाडौं रोयल्ससँग पराजित भएको थियो भने विराटनगर पोखरा पल्टनसँग पराजित भएको थियो। 

धनगढीले लिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ अोभरमा १ सय ४ रनमै समेटियो। उसका मोहम्मद जाहिद आलामलले १९ र आन्द्रु सुबिक्सनले १८ रन जोडे।

त्यसअघि विदेशी(इंग्ल्याण्ड) खेलाडी पिटर ट्रिगोको अर्धशतकीय पारीसँगै सौरभ खनालको विस्फोटक ब्याटिङको मदतमा धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो।

पिटरले ३८ बलमा ५३ रनको इनिङ्स खेल्दै धनगढीलाई अघि बढाएका थिए। जितेन्द्र मुखियाको अठारौं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको हातबाट क्याच हुनुअघि उनले चार छक्का र दुई चौका प्रहार गरेका थिए।

यस्तै पिटरले चौथो विकेटका लागि धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीसँग ६० रनको साझेदारी गरेका थिए। दीपेन्द्रले २९ रन जोडे। १९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै सौरभ खनालले अन्त्यतिर १३ बलमा ४१ रनको पारी खेल्दै धनगढीलाई ठूलो लक्ष्यमा र्पूयाएका थिए। उनले ५ छक्का र २ चौका प्रहार गरे।

विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए। यस्तै किशोर महतो, सन्दीप लामिछाने र सुनिल धमलाले एक एक विकेट लिए।

पीपीएलको विजेताले २७ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १० लाख पाउने आयोजक क्विन्स इभेन्ट्स प्रालिले जनाएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल पुरस्कार दिइनेछ ।