नेपाल र मलेसियाबीच श्रम सम्झौता हुदै, मलेसियाका मन्त्री नेपालमा

नेपाल र मलेसियाबीच श्रम सम्झौता हुदै, मलेसियाका मन्त्री नेपालमा

नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज नेपाल आउँदै छन्।

दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार पारेको श्रम सम्झौताको मस्यौदामा हस्ताक्षर गर्न उनी नेपाल आउने भएका हुन्।

सोमबार आयोजना हुने विशेष समारोहका बीच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले हस्ताक्षर गर्ने कार्यक्रम छ।

सम्झौतासँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन।

सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख गरिएको छ।

त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको श्रम मन्त्रालयले जनाएको छ।

नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहे पनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन।

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो। गत असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली र मलेसियाली पक्षबीच सम्झौताको एमओयुमा सहमति भएको थियो।

विभिन्न एजेन्सीका नाममा कामदारसँग अवैध शुल्क लिँदै आएको एजेन्सी सरकारले खारेज गरेसँगै ६ महिनादेखि नेपाली कामगदार मलेसिया जान पाएका छैनन्।

सम्झौतामा हस्ताक्षर भए पनि नेपालीका लागि मलेसियामा रोजगारी खुल्न भने केही समय लाग्ने मन्त्रालयले जनाएको छ।

नेपाल र मलेसिया सरकारबीच सम्झौतामा हस्ताक्षर भए पनि प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने श्रम मन्त्रालयको भनाइ छ।