सुत्केरी भएको कति समयपछि यौन सम्पर्क राख्नु उचित ?

सुत्केरी भएको कति समयपछि यौन सम्पर्क राख्नु उचित ?

एउटी महिला तब मात्र पूर्ण हुन्छिन्, जब उनी आमा बन्छिन् । अनेक दुःख कष्ट सहेर उनले परिवारलाई पूर्ण हुने खुशी पनि प्रदान गर्छिन् । भनिन्छ, आमा बनेपछि महिलाको शरीर स्वस्थ दुवै पहिले जस्तो हुँदैन । उनमा पहिलाको जस्तो यौन इच्छा पनि रहँदैन ।

तर, संसारभरी गरिएको अध्ययनले के बताउँछ भने आमा बनेको केही समयपछि महिलामा कामेच्छा स्वाभाविक रुप बढ्न थाल्छ । तर आमा बने पछि आफ्नो यौन जीवन बिग्रेको धेरै महिलाहरु बतायँछन् ।

कसै-कसैले त बच्चा जन्मेको एक वर्ष भैसक्दा समेत यौन सम्पर्क गर्दैनन् । श्रीमान्-श्रीमती मात्र हुँदा हरेक समय यौन सम्पर्ककोलागि सहज वातावरण हुने भए  पनि बच्चाका कारण यौन सम्पर्कका लागि समय मिलाउनु पर्ने भएकाले पनि त्यस्तो असहज परिस्थिति सिर्जना हुन्छ ।

आमा बनेपछि विभिन्न कारणले गर्दा महिलामा यौन चाहाना कम हुन्छ तर बच्चा जन्मिएकै कारण एउटा दम्पत्तिको यौन जीवनमा पुर्ण विराम भने लाग्दैन ।

के भन्छिन् स्त्री रोग विशेषज्ञ ?

टेकु, काठमाडौंस्थित राष्ट्रिय जन स्वास्थ प्रयोगशालाकी प्रमुख कन्सलट्यान्ट प्याथोलोजिष्ट तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मुकुन्दा शर्माका अनुसार सामान्यतया बच्चा जन्मेको ४५ दिनपछि नै महिलाहरु यौन सम्पर्कका लागि तयार हुन सक्छन् ।

प्रायः हार्मोन व्यालेन्समा आएपछि महिलाहरुमा यौन इच्छा बढ्न थाल्ने पनि डा.शर्मा बताउनु हुन्छ । तर प्रायः महिलाहरु यो समयमा यौनसम्पर्क गर्न सहज महसुस गर्दैनन् । कति महिलाहरुलाई त बच्चा जन्मेको एक वर्षपछि मात्र यौन इच्छा उत्पन्न हुन्छ ।

आमा बनेपछि यौनसम्पर्कको लागि समय निकाल्न गाह्रो हुनु स्वभाविक नै हो । यो समयमा एउटी आमालाई आफ्ना सन्तानको हेरचाह बढि महत्वपूर्ण हुन्छ । त्यसैले यौन सम्पर्कप्रति रुची बढाउनका लागि प्रारम्भमा चुम्बन, प्रगाढ आलिङ्न जस्ता क्रियाकलापहरु गर्नु पर्छ ।

आमा बनेपछि महिलाको शरीर पहिला भन्दा फरक हुन्छ । आमा बनेपछि शरीर पहिले भन्दा मोटो हुनु स्वभाविक नै हुन्छ । यस्ता स्थितिमा आफ्नोशरीरप्रति चिन्ता गर्नु हुँदैन । यसले तपाईको यौन इच्छालाई घटाउने काम गर्छ । समय बित्दै जाँदा तपाईको शरीर आफ्नो आकारमा आउन थाल्छ । आफ्नो शरीर बच्चाको जन्मेसंगै परिवर्तन भएको कुरालाई स्वीकार गर्नु पर्छ, यसले तपाईको आत्मविश्वास बढ्छ ।

डा.मुकुन्दा शर्मा अनुसार महिलाले सुत्केरी समयमा आफ्नो लागि पनि केहि समय निकाल्नु पर्छ । यसको साथै धेरै भन्दा धेरै समय आराम गर्ने र कार्बोहाइड्रेट भएको र धेरै चिल्लो खानाहरु खानु हुँदैन । यसो गर्दा अनावश्यक तौल बढ्दैन र आफ्नो शरीर भद्दा पनि हुन पाउँदैन ।

त्यस्तै शरीरका गोप्य अंगहरुलाई सामान्य अवश्थामा ल्याउनका लागि पेरिमेल एक्ससाइज गर्नु उपयुक्त हुन्छ । आमा बनेको ४५ दिनबाट यो एक्ससाइज गर्न सकिने डा.शर्मा बताउनु हुन्छ ।  त्यसबाहेक बिहान केही समय हिँड्ने बानी गर्नु पर्छ ।

घर बाहिर जान सम्भव भएन भने घर वरपर नै हिड्नुपर्छ । यसो गर्दा तपाईको शरीर आफ्नेा आकारमा आउन थाल्न । आर्थिक कारणले गर्दा अधिकांस महिलाहरु पौष्टिक आहार लिन सक्षम हुँदैनन् । तर, आफ्नो क्षमताले भ्याएसम्म पौष्टिक आहार लिनै पर्छ ।

सुत्केरीपछि यौनसम्बन्ध राख्दा पीडा हुन्छ कि हुँदैन ? भयो भने के गर्ने ?

धेरै समयपछिको यौन सम्पर्कमा केही पीडा हुनु स्वभाविक नै हो । पीडा हुने-नहुने भन्ने कुरा तपाईको डेलिभरि कस्तो प्रकारको हो, नर्मल अथवा अप्रेसन, भन्ने कुरामा पनि भर पर्छ ।

दुबै किसिमको डेलिभरीको समयमा धेरै घाउ भएको अथवा धेरै छाला च्यातिएको छ भने केही पिडा हुन्छ । तर सामान्य स्थितिमा ४५ दिन बितेपछि यौनसम्पर्क राख्दा पीडा नहुने डा.शर्मा बताउँछिन् ।

यौनसम्पर्कको समयमा धेरै पीडा भयो भने केही समय आफ्नो  शरीर सामान्य हुन दिनु पर्छ । पछिसम्म पनि यहि समस्या रहिरह्यो भने डाक्टरसँग सल्लाह लिनु पर्छ ।

बुवा बनेका पुरुषलाई पनि पहिले जस्तै गरि यौनसम्पर्क राख्न केही असहज अनुभव हुन्छ । अझ जुन पुरुषले डेलिभरीको क्रममा अस्पतालको लेबर रुममा सहभागि भएका हुन्छन्, र त्यसक्रममा आफ्नी जीवनसाथीको पीडा नजिकबाट नियालेका हुन्छन्, त्यस्ता पुरुषलाई यौनसम्पर्क राख्न कठिन हुन्छ ।

कतिपय स्थितिमा पुरुष आफु पिता बनेकोमा उत्साहित हुन्छन् भने कति हुँदैनन् पनि । यदि तपाईको श्रीमान् तपाईंको परिवर्तित रुप देखेर यौनबाट टाढा हुन्छन् भने तपाईंले आफ्नो  श्रीमान्लाई आफु पहिले जस्तै जोसिलो र यौनको लागि तयार रहेको कुरा स्पष्ट पार्नु पर्छ ।