पीपीएल : धनगढीद्वारा विराटनगरसामु ठूलो लक्ष्य प्रस्तुत

पीपीएल : धनगढीद्वारा विराटनगरसामु ठूलो लक्ष्य प्रस्तुत

विदेशी(इंग्ल्याण्ड) खेलाडी पिटर ट्रिगोको अर्धशतकीय पारीसँगै सौरभ खनालको विस्फोटक ब्याटिङको मदतमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको ठूलो लक्ष्य दिएको छ।

पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) अन्तर्गत आइतबार बिहान जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन जोड्यो। 

पिटरले ३८ बलमा ५३ रनको इनिङ्स खेल्दै धनगढीलाई अघि बढाएका थिए। जितेन्द्र मुखियाको अठारौं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको हातबाट क्याच हुनुअघि उनले चार छक्का र दुई चौका प्रहार गरेका थिए।

यस्तै पिटरले चौथो विकेटका लागि धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीसँग ६० रनको साझेदारी गरेका थिए। दीपेन्द्रले २९ रन जोडे। १९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। 

यस्तै सौरभ खनालले अन्त्यतिर १३ बलमा ४१ रनको पारी खेल्दै धनगढीलार्इ ठूलो लक्ष्यमा पूर्‍याएका थिए। उनले ५ छक्का र २ चौका प्रहार गरे। 

विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए। यस्तै किशोर महतो, सन्दीप लामिछाने र सुनिल धमलाले एक एक विकेट लिए।

पीपीएलको विजेताले २७ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १० लाख पाउने आयोजक क्विन्स इभेन्ट्स प्रालिले जनाएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल पुरस्कार दिइनेछ ।