दशै सकेर तिहार नमनाएर कामका लागि फर्किदै लाहुरे

दशै सकेर तिहार नमनाएर कामका लागि फर्किदै लाहुरे

धनगढी : दसैँको झण्डै दुई हप्ताअघिदेखि नै कैलाली कञ्चनपुरका सीमा नाकामा प्रफुल्ल अनुहार लिएर भारतमा रोजगारीका लागि गएका नेपालीहरुमा घर फर्किरहेका देखिन्थे ।

तर, दसैँ सकिएसँगै ती मुहार अलिक मलिन देखिन थालेका छन् । खुशी अनुहार लिएर आएकाहरु दसैँ मनाएर कामका लागि भारतका विभिन्न शहरमा जाने क्रममा छन् ।

कैलालीको त्रिनगर नाकामा भारतका जाने क्रममा भेटिएकाहरु निराश देखिन्थे । दसैँ त माने तर नजिकिँदै गरेको तिहार उनीहरुका लागि परदेशमै मनाउनु पर्ने बाध्यता बन्यो ।

दसैँ मनाउनका लागि केही दिनको छुट्टी लिएर घर आएकाहरु दसैँ सकिएसँगै कामका लागि भारत जान थालेका हुन् । फर्किनेका घुईँचो लाग्न थालेको छ सीमा नाकामा ।

सुदूरपश्चिम प्रदेशका अधिकांश रोजगारको सिलसिलामा भारतका विभिन्न शहरमा जाने गर्छन् । यस्तै केही पढाईका सिलसिलामा भारतमा बस्ने गरेका छन् ।

सीमा नाका त्रिनगरमा भेटिएका बाजुराको बुढीनन्दा गाउँपालिकाका शेरबहादुर शाहले दसैँ मनाएर कामका लागि बाध्यताका कारण भारत जान लागेको बताए । ‘दसैँ घर परिवारसँग खुशीका साथ मनाएँ । तिहार मनाउने रहर त किन थिएन र ?

भारतको पुनामा होटलमा काम गर्दै आएका शाहले प्रश्न गरे, ‘घर परिवार पाल्नका लागि भारत जानैपर्छ । नगए के गर्नु ?

उनीसँगै गाउँका ८ जना भारत कामका लागि गएका थिए भने सुदूरपश्चिम प्रदेशका जिल्लाका सयौँ मानिसहरु दसैँ सकेर कामका लागि भारत गइरहेका छन् ।

तिहारको मुखमा कामका लागि बाध्य भएर भारत गइरहेकाहरुले रोजगारीको व्यवस्था गरी स्वदेशमै काम गर्ने वातावरण मिलाईदिन सरकारसग आग्रह गरेका छन् ।