आईपीएलको २०२० सिजन अनिश्चितकालका लागि स्थगित

आईपीएलको २०२० सिजन अनिश्चितकालका लागि स्थगित

कोभिड-१९ महामारीका कारण भारतमा बन्दाबन्दी (लकडाउन) ३ मेसम्मका लाग लम्बिएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२० सिजन अनिश्चितकालका लागि स्थगित भएको छ।

ट्वान्टी–२० स्वरूपको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुने तालिका थियो। तर, कोभिड-१९ महामारीको जोखिम बढिरहेकाले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ।

त्यसअघि प्रतियोगिता २९ मार्चमा हुने भनिएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ वैशाखमा लकडाउनले निरन्तरता पाउने घोषणा गरेका थिए। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नयाँ मिति तोकेको छैन।

बीसीसीआईको उच्च अधिकारीहरूले भिडिओ कन्फेरेसनमार्फत् बैठक बस्दै आईपीएल स्थगित गर्ने निर्णय गरेको हो। बैठकमा बीसीसीआई अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, आईपीएल प्रमुख ब्रिजेश पटेल तथा कोषाध्यक्ष अरूण धुमाललगायतको सहभागिता रहेको क्रिकइन्फोले जनाएको छ।

बीसीसीआईले आईपीएलको तालिका परिवर्तन गरेको यो दोस्रोपटक हो। बीसीसीआईले शुरूमा जुन पहिलो साता प्रतियोगिता गराउने तयारी  गरेको थियो। त्यस्तै खाली रंगशालामा खेलाउने चर्चा पनि थियो। तर, तत्कालका लागि ती सबै विकल्प थाती रहेको छ।

प्रतियोगिताको मिति तय नहुदाँसम्म खेलाडीले तबल पनि पाउनेछैनन्। क्लबले दुई चरणमा रकम उपलब्ध गराउने नियम थियो। पहिलो किस्ता प्रतियोगिता शुरू हुनुभन्दा एक साता अघि र दोस्रो किस्ता प्रतियोगिता समाप्त भएपछि उपलब्ध गराइन्थ्यो।

तीब्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हाल विश्वका सबै खेलकुद रोकिएको छ। भारतमा ११ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ज्यान गुमाउनेहरूको संख्या ४०० पुग्न लागेको छ।