नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

नेपालमा कोभिड-१९ संक्रमितको संख्या १४ पुगेको छ। आज रौतहट र कैलालीमा एक/एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १४ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरेर दुईवटा केस थपिएको जानकारी दिए। रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका- १ की ५२ बर्षीया महिलामा संक्रमण देखिएको हो। उनी पर्साको वीरगञ्जबाट कैलाली पुगेको खुलेको छ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टको नतिजा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा नमूना पठाइएको थियो।काठमाडौंमा गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको हो।

लम्किचुहा नगरपालिका निवासी ती महिलाले लामो समयदेखि वीरगञ्जको बसपार्कमा चिया पसल संचालन गर्दै आएको खुलेको छ। लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले १७ चैतमा ३५ जनालाई पश्चिमतर्फ आउने अनुमति दिएको थियो। त्यही समूहमा उनी पनि आएकी थिइन्।

उनीहरूमध्ये केही दाङ तथा नेपालगन्जमा उत्रिएको र १७ जना भने १८ चैतमा कैलाली आइपुगेको प्रहरीले जनाएको छ।  कैलाली आएपछि उनीहरू सबैलाई लम्की बहुमुखी क्याम्समा रहेको क्वारेन्टाइनमा राखिएको थियो।

कोरोना भाइरस परीक्षणका लागि उनको र्‍यापिड टेष्‍ट कहिले गरियो भन्ने जानकारी भने दिइएको छैन।उनी वीरगञ्जबाटै  कोरोना भाइरस संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ। उनीसँगै रहेका अन्य १६ जनाको पनि र्‍यापिड टेष्‍टमा नतिजा नेगेटिभ देखिएपछि सबैलाई घर पठाइएको थियो ।

उनी पनि क्वारेन्टाइनबाट घरमा गएकी थिइन्। अहिले उनको नतिजा पोजिटिभ देखिएको जानकारी आएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। बाँकी १६ जनालाई पनि पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको छ। राैतहटमा संक्रमित भेटिएका १९ वर्षीय युवकको भने थप विवरण खुल्न बाँकी छ।