धनगढीमा एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिनबाट परीक्षण शुरु

धनगढीमा एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिनबाट परीक्षण शुरु

धनगढी : कैलालीको धनगढीमा एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिनबाट परीक्षण शुरु भएको छ । बुधवार धनगढी आईपुगेको मेसिन आज साँझदेखि सञ्चालनमा आएको हो ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको धेरैजनाको एकै पटक  कोभिड १९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन सुदूरपश्चिम पठाएको हो ।  

मेशिनले तीन घण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले बताए । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका ईञ्चार्ज रमेश शाहीले आरटीपीसीआरको जडान कार्य पूर्ण रुपमा भएपछि साँझदेखि नमूना परीक्षण शुरु भएको बताए ।

आरटीपीसीआर मेसिन सञ्चालनमा आएसंगै कैलाली र कञ्चनपुर लगायतका सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट संकलित थ्रोट स्वावको आज साँझदेखि धनगढीबाटै परीक्षण हुने भएको छ ।