कोभिड-१९ सँग जुध्‍ने तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स गर्दै

कोभिड-१९ सँग जुध्‍ने तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स गर्ने भएका छन्। बिहान ११ बजे सिंहदरबारस्थित एक्सन रुमबाट भिडिओ कन्फ्रेन्स तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

थापाका अनुसार कन्फ्रेन्स कोभिड-१९ को रोकथाम, उपचारमा भइरहेका काम र तयारीमा केन्द्रित हुनेछ। कोभिड-१९ सँग जुध्‍न अन्तरप्रदेश र संघसँगको समन्वय पनि भिडिओ कन्फ्रेन्सको मुख्य अजेण्डा रहेको छ। मुख्यमन्त्रीहरूले कोरोना भाइरस संक्रमणबाट बच्‍न प्रदेश सरकारले गरिरहेका कामको रिपोर्टिङ गर्नेछन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि जारी लकडाउन दोस्रो पटक अवधि बढाएर ३ वैशाखसम्म लम्ब्याइएको छ। दुई दिनअघि सरकारले उपत्यकामा डेरा गरेर बसेका तर लकडाउनका कारण घर फर्किन नपाएकाहरूलाई घर फर्काउन गरेको निर्णय प्रदेश सरकारले असहमति जनाएका कारण फिर्ता लिएको थियो।