लकडाउन

लकडाउन

पुर्णतः
बदलिएको छ दैनिकी
कुखुराको भालेसङ्गै उठ्ने म
सुर्यको किरणले बिस्तरामै पोल्न थाले पछि
कोल्टो फेर्ने भएको छु।
मोबाइलको घण्टी बज्दा पनि
नहेरी उठाउँछु र बोल्छुँ बिस्तारै,
उज्यालो कतिखेर हुन्छ
हुन्छ सुर्योदय पनि
थाहा नपाएको महिनौ पुग्न थाले छ
बा आमा साथी सङ्गी
जसले जति जे सोधे पनि
मेरो भने उहीँ जवाफ हुन्छ
लकडाउन चलेको छ।

विहान बाले आफ्नो
नित्यकर्म भ्याए पछि
सायद दिनको सुरुवात गर्न
सम्झिन्छन होला मलाई नै
त्यसैले त फोन आइ रहन्छ दिनका दिन
आमाले प्रत्येक पल्ट खाना खानु पुर्ब
सम्झिन्छिन होला
र त बाडुल्की लागि रहन्छ
बिहान दिउँसो र साझ पनि
उनी पनि बिर्सेकि त पक्कै नहुनु पर्ने
सम्झना आइरहन्छ छिन छिनमा
भाइ बहिनी को म्यासेज आइरहन्छ
अरु पनि कति हो कति
सबैको सोध्ने प्रश्न सझा हुन्छ
के छ हालखबर
मेरो भने उहीँ जवाफ
लकडाउन चलेको छ।

मलाई भगवान भन्दा नि
पुजा गर्न मन लागेको
मोबाइल र ईन्टरनेट निर्माताको
जसले यति धेरै सिकायो
सिकायो आफन्त र पराइ बिचको भिन्नता
अनि
आफन्त भन्ने र मान्ने बिचको अन्तर पनि
कास आजसम्म
भावनात्मक दुरी नाप्ने यन्त्र
बनेको हुँदो हो
मजाले यो फुर्सदमा नाप्ने थिए
ता कि भेट हुँदा देखाउन पाइयोस
कति ले सच्चै सम्झिन्छन
कतिले सोध्नलाई मात्रै सोध्छन
के छ हालखबर
मेरो भने उहीँ हुन्छ जवाफ
लकडाउन चलिरहेको छ।

सम्झिने फुर्सद छ
र सम्झिरहेछु
परदेशी बुवा पर्खेर बसेका
ती अबोध वालक
छोरा पर्खेको बाबू
श्रीमान पर्खेको श्रीमती
र सबै पर्खी बसेको छ
महाकाली किनार को यात्री
निकै उराठ लागेर आउँछ
कहिले काहिँ
आफ्नै यो अस्तव्यस्त हालत देखेर
र चित्त बुझाउछुँ
म भन्दा अस्तव्यस्त त
मेरो सरकारको हालत छ
जसले जे गरे नि भा छ
कात्रोमा नि कमिसन खा छ
मर्ने मरेकै छ,कमाउनेले कमाछ
एकले अर्कोलाई आरोप ला छ
अनि सोध्छ के छ भनेर
मेरो भने उहीँ जवाफ छ
लक डाउन चलिराछ।