भारतमा लकडाउन बढाउने योजना बन्दै, विद्यालय र धार्मिक स्थान जेठसम्मै बन्द गर्न सुझाव

भारतमा लकडाउन बढाउने योजना बन्दै, विद्यालय र धार्मिक स्थान जेठसम्मै बन्द गर्न सुझाव

भारतमा कोभिड–१९ का विषयमा गठित मन्त्री समूहले विद्यालय, कलेज, शपिङ मल र धार्मिक स्थलहरू मे १५ सम्म बन्द गर्न सुझाव दिएको छ । 

मन्त्री समूहले लकडाउन अप्रिल १४ पछि खोलिए पनि भीडभाड हुने सबै ठाउँ अनिवार्य बन्द गरिनुपर्ने सुझाव दिएको छ । अनि धार्मिक केन्द्र र शपिङ मलहरू जस्ता सार्वजनिक स्थानमा ड्रोनबाट निगरानी गर्न पनि सmुभाव दिइएको छ । 

मन्त्री समूहको बैठक मंगलवार रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको थियो । भारतमा मे महिनादेखि विद्यालयहरूमा गर्मीको छुट्टी दिने गरिन्छ र जुनको अन्त्यसम्म बिदा रहन्छ । 

त्यसैले बिदा शुरू हुन्जेलसम्म विद्यालयहरू बन्द गर्नुपर्ने समूहको माग छ । यस समूहलाई देशमा कोरोनाभाइरस महामारीका कारण उत्पन्न परिस्थितिको निगरानीपछि प्रधानमन्त्रीलाई सिफारिश पठाउने जिम्मेवारी दिइएको छ । 

उता मध्य प्रदेश समेत आठ राज्यका सरकारहरूले केन्द्रलाई अप्रिल १४ पछि पनि लकडाउन कायम राख्न माग गरेका छन् । लकडाउन अन्त्य गर्ने अन्तिम फैसला प्रधानमन्त्री नरेन्द्र मोदीसँग मुख्यमन्त्रीहरू र विभिन्न दलका नेताहरूले गर्ने भिडियो कन्फरेन्सपछि निश्चित हुनेछ । 

केन्द्र सरकार लकडाउन बढाउने विषयमा सोचिरहेको छ । प्रधानमन्त्री मोदीले यो लडाइँ लामो समय चल्ने भनी दुईपटक भनिसकेका छन् ।