भावुक देखिए ट्रम्प, कोरोनाले अमेरिकामा लिनसक्छ २ लाख ४० हजारको ज्यान

भावुक देखिए ट्रम्प, कोरोनाले अमेरिकामा लिनसक्छ २ लाख ४० हजारको ज्यान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई साता पीडादायी हुने भन्दै जनतालाई धैर्य र सतर्क रहन सुझाव दिएका छन् । सरकारले जारी गरेको निर्देशिका प्रभावकारी कार्यान्वयन हुदाँसमेत १ लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने जोखिम विज्ञहरुले औल्याएका छन् । 

देशभर मानिस–मानिसबीच सामाजिक दूरी कायम गर्नेगरी ट्रम्प सरकारले नयाँ निर्देशिका जारी गरेको हो । भीडभाडमा नजाने र घरबाटै काम गर्नुपर्ने यो निर्देशिकामा उल्लेख छ, यो ३० अप्रिलसम्म कायम रहनेछ । ट्रम्पले सम्भावित मृत्युको खतरामा रहेका दशौं लाखको ज्यान जोगाउन यो निर्णय लिनुपरेको बताएका छन् । 

यसअघि हप्तौंसम्म भाइरसलाई हल्का रुपमा लिएका ट्रम्प अहिले चिन्तित बनेका छन् । उनले मंगलबारको पत्रकार सम्मेलनमा दशकौंपछिको सबैभन्दा ठूलो स्वास्थ संकटलाई हल्का रुपले कहीं कतै पनि टिप्पणी गरेनन् ।

बरु, यस भाइरसका कारढा अमेरिकीले अझै काला दिनहरु सामना गर्नुपर्ने हुनसक्ने बताए । ‘म हरेक अमेरिकीलाई हाम्रो सामु खडा भएको कालो दिनको तयारी गर्न अनुरोध गर्दछु,’उनले भने, ‘हाम्रा लागि आगामी दुई साता निकै कठिन हुनेछन् ।’ उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा कोरोना भाइरस सम्बन्धी निर्देशिका औपचारिक रुपमा सार्वजनिक गरेका हुन् ।

अमेरिकामा मृतकको संख्या ३ हजारभन्दा बढी पुगिसकेको अवस्थामा उनले भाइरस रोकथामका लागि सामाजिक दूरीलाई थप ३० दिन पालना गर्नुपर्ने अवस्था रहेको बताए । ट्रम्पले आफ्ना धारणा राखिसकेपछि उनको टास्क फोर्सले सामाजिक दूरी कायम राख्ने नियमको मोडलले सम्भावित दशौं लाखको मृत्यु कसरी टार्छ भनेर स्लाइडमार्फत देखाएका थिए । 

के भन्छन्, विज्ञ ?
ह्वाइट हाउसका कोरोना भाइरस रेस्पोन्स कोअर्डिनेटर डाक्टर डेबोरह ब्रिक्स संघीय सरकारले ल्याएका यस्ता निर्देशिका प्रभावकारी रुपमै कार्यान्वयन भएपनि १ लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्ने खतरा रहेको बताउँछिन् ।

यो संख्या भियतनाम युद्धमा ज्यान गुमाउने अमेरिकी सेनाको संख्याभन्दा पनि बढी हो । न्युर्योक र न्यु जर्सीमा देखिएको मृतकको पछिल्लो संख्याले आँकडा निकै माथि हुनसक्ने देखाएको छ ।  ‘संख्या जसरी बढ्दैछ ।

हामीले पनि त्यसरी नै तयारी गर्नुपर्ने अवस्था छ,’ राष्ट्रपति ट्रम्पको टोलीका स्वास्थविद् डाक्टर एन्थोनी फाउचीले भने, ‘यो संख्यालाई कम गर्न हामीले गर्नसक्ने जति गर्दैछौं । ’

‘यहाँ कुनै जादुको गोली छैन । कुनै चमत्कारी भ्याक्सिन वा थेरापी पनि छैन । त्यसैले आफ्नो व्यवहारमा सुधार ल्याएर सामाजिक दुरी कायम गर्ने हो,’ ब्रिक्सले भने । 

यसअघि सामाजिक दूरी कायम राख्ने सवालमा विज्ञहरुबीच नै अमेरिकामा बहस चलेको थियो । ट्रम्पका सहयोगीहरुले १५ दिनमात्रै समय बढाउनुपर्ने तर्क गरेका थिए भने स्वास्थकर्मीले कडाईका साथ ३० दिन लम्ब्याउनुपर्ने अडान राखे ।